काठमाडौं, ५ पुस । लगातार बढेको कारोबार ७ दिनपछि सेयर बजारमा बिहीबार ९आठौं दिन० ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम भएको छ । यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो ।
७ कारोबार दिनपछि घटेको बजारलाई सामान्य करेक्सनका रुपमा औंल्याइएको छ । बजारका जानकार मुक्ति अर्यालले बढेको ७र८ दिनपछि करेक्सन हुनु सामान्य रहेको र बीचबीचमा करेक्सन आउँदा बजार झन् बलियो बन्ने बताए ।
‘लगातार बढेपछि करेक्सन जरुरत थियो, यसले बजारलाई परिपक्व बनाउँदै लैजान्छ, अरु केही दिन करेक्सन भएमा त्यसलाई सामान्य मान्नुपर्छ’ उनले भने । बिहीबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ९५ करोडको कारोबार भएकोमा यस दिन ६ अर्ब २७ करोडको कारोबार भयो । कुल ५० कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ३ को स्थिर रह्यो ।
उत्पादन र ब्यापार बाहेकका सबै समूह घटेका छन् । उत्पादन समूह २.३ प्रतिशत र व्यापार ०.५ प्रतिशत बढ्यो । विकास बैंक र फाइनान्स समूह सबैभन्दा धेरै ३–३ प्रतिशत घटे । बैंकिङ २३, विकास बैंक १३५, फाइनान्स ५८, होटल तथा पर्यटन १७८, जलविद्युत् ७, लगानी १, जीवन बीमा ३२९, माइक्रोफाइनान्स ७८, निर्जीवन बीमा ८२, र अन्य समूहको सूचक २३ अंक घटे ।




