
अछाम, पौष २५
जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि अछामका सबै स्थानीय तह यतिबेला तयारीमा लागेका छन् । सोही अनुरुप अछामको तुर्माखाँद गाउँपालिकामा आज बुधबारबाट १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर १ रहफमा सुरु भएको प्रतियोगितामा माविस्तरका सबै विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बिसी , उपाध्यक्ष बिमला शाही, पूर्व गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा , सबै वडा अध्यक्ष , राजनैतिक दलाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । आ–आफ्नो आशनबाट बोल्दै सरोकारवालाहरुले खेल अनुशासनको पहिलो खुट्किलो भएकाले विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्ने बताएका छन् ।
गाउँपालिकाबाट छनोट भएर जिल्लास्तरिय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै सरोकारवालाहरुले गाउँपालिका नै जिल्लास्तरिय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न खेलाडी विद्यार्थीलाई आग्रह गर्नु भयो । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।