धनगढीः बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए मेल खाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले अभियुक्तको डीएनए र भागरथीको भजाइनल स्वाबको रिर्पोट प्राप्त भएको पुष्टि गर्दै दुबैको रिर्पोट मिलेको जानकारी दिए।
अनुसन्धानका क्रममा दिनेशले बलात्कारपछि हत्या गरेको तथ्य र प्रमाणबाट पुष्टि भएको प्रहरीले बताएको थियो भने स्वयंम उनले पनि अभियोग स्वीकारेका थिए।
उक्त मुद्दामा प्रारम्भिक सुनवाइ गर्दै जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राख्न आदेश दिएको थियो।
अहिले अभियुक्त भट्ट डोटीमै छन्। बाल सुधार गृहबाट आफ्ना काका र बुवालाई फोन गरेर दिनेशले आफूले भागरथीको हत्या नगरेको बताएपछि उनी निर्दोष रहेको भन्दै रिहा गर्नुपर्ने माग परिवारले गर्दैै आएका थिए।
दिनेशले गाउँपालिकाकै एकजना कर्मचारी र अर्का अपरिचित व्यक्तिले भागरथीको हत्या गर्न आफूले देखेको बताउँदै घटनाबारे अरुलाई भनेमा बुवा र भाईसहित आफ्नो समेत हत्या गर्ने धम्की दिएपछि बाध्य भएर अपराध स्वीकारेको दाबी गरेको उनका बुवाले बताउँदै आएका थिए। Souce DineshKhabar