्काठमाडौं । अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ७ सेराका शिवप्रसाद जैशीद्वारा लिखित कथासंग्रह घटको रैबारको विमोचन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समालोचक प्रा.डा.दयाराम श्रेष्ठ ‘सम्भव’ले पुस्तकको लोकार्पण गरेका हुन् । लोकापर्ण कार्यक्रममा प्रा.डा.श्रेष्ठले आफूले पढेका हजारौं कथाहरूमध्ये सो कथा संग्रह फरक खालको भेटिएको बताए । ‘कथा लेख्ने आफ्नै शिल्पी हुन्छ तर यस कथामा नयाँपन छ ।’ उनले भने । नेपालको सुदूरपश्चिमको अछाम जिल्लाको भाषा, संस्कृति र परिवेश कृतिमा झल्किएको उनको टिप्पणी थियो ।
त्यस्तै, कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमालेका उपमहासचिव एवं साहित्यकार प्रदीप ज्ञवाली, पूर्वमन्त्री साहित्यकार एवं गीतकार शंकर कोइराला, अछाम जिल्लाका सांसद एवं पूर्वमन्त्री शेरबहादुर कुंवर, साहित्यकार नरनाथ लुइँटेल, पूर्ण रावल, साहित्यकार प्रल्हाद पोखरेल र प्रकाशकको तर्फबाट भुँडीपुराणका केशव पराजुलीले लेखकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
लेखक जैशीले कथा लेख्ने प्रेरणा आफूले बाल्यकालदेखि नै विभिन्न परिस्थितिबाट पाएको अनुभव सुनाए । उनले आफूले भोगेका र देखेका परिवेशले नै आफूलाई कथातिर आकर्षित गराएको उनको भनाइ थियो ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान अनामनगरको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता उङ्दी शेर्पाले गरे भने पुस्तक लोकापर्ण कार्यक्रममा लेखक डा. तारालाल श्रेष्ठलगायत साहित्यअनुरागीहरुको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तित्वहरूले यसले नेपाली साहित्यमा एक नयाँ दृष्टिकोणको परिचय गराउने अपेक्षा गरेका छन् । २५४ पेजको कथासंग्रहमा २२ वटा कथा समेटिएको छ भने यसको मूल्य रु. ५०० कायम गरिएको छ । source :kathmandukhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय