
कैलाली, १७ चैत्र /मोहन्याल गाउँपालिका प्रमुख नवल सिह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले का केन्द्रीय सल्लाहकार सद्स्य, कम्युनिस्ट आन्दोलनका धरोहर रावलको काठमाडौ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विगत २०१५ सालदेखि कम्युनिस्ट राजनीतिक यात्रामा सक्रिय रावल २०३६ सालमा गोर्खा दक्षिण बाहु पुरस्कार स्वर्गीय राजा श्री ५ विरेन्द्र वीर विक्रम शाह बाट सम्मानित भएका थिए । स्वर्गीय रावल पन्चायती व्यवस्थाको समयमा विक्रम सम्वत २०२९ सालमा पन्चायत विरुद्ध सुगरखाल गाविसको पहिलो प्रधानपन्च हुनुभएको थियो । निरन्तर सर्वहारा वर्गको मुक्तिका लागि आफ्नो आवाज बुलन्द गर्दै वि.स. २०४९ सालमा सुगरखाल गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । राजनीतिक यात्राको गति सङ्गै वि.स. २०५६ सालको आम निर्वाचनमा नेकपा मालेबाट कैलाली जिल्ला क्षेत्र नम्बर २ बाट उम्मेदवारि दिनु भएको थियोे । त्यस पश्चात् वि.स. २०७० संविधान सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट समानुपातिक उम्मेदवार रहेका रावल वि.स.२०७४सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलोपटक भएको स्थानीय सरकारको निर्वाचनमा मोहन्याल गाउँ पालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
स्वर्गीय रावलका तीन छोरा, बुहारी, नौ नाति नातिनी र एक जना पनाती रहेका छ्न ।
अध्यक्ष रावल विगत तीन वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । स्वर्गीय रावलको शव मंगलबार नै काठमाडौ बाट कैलाली ल्याउने तयारी भै रहेको पारिवारिक स्रोतले जनाएको छ ।