अछाम माघ २० । अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ६ तोलीमा रेबिज रोग पुष्टि भएको छ । मृत अवस्थामा फेला परेको एक गोरुमा देखिएका लक्षणका आधारमा नमुना संकलन गरि परिक्षण गर्दा रेबिज पुष्टि भएको पञ्चदेवल विनायक नगरपालिकाको पशु सेवा शाखाका प्राबिधिक दिपशिखा शर्माले जानकारी दिनुभयो । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा रेबिज पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र अछामका प्रमुख वाल्मीकि प्रसाद जोशीले बताउनु भयो । उहाँका अनुसार मरेको गोरुको सम्पर्कमा रहेका अन्य चौपायामा पनि संक्रमणको जोखिम रहेको छ । यस अघि पनि सोही क्षेत्रमा क्रमशः ५ वटा चौपाया मरेका घटनालाई गम्भीर रूपमा लिँदै नमूना परीक्षण गरिएको पशु सेवा शाखाले जनाएको छ। रेबिज पुष्टि भएसँगै वडा नम्बर ६ का पशुचौपायामा प्रोटोकल अनुसार खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । रेबिज रोग प्राणघातक सरुवा रोग भएकाले पशु तथा मानव दुवैको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नगरपालिकाको पशु सेवा शाखाले “आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ” भन्ने सन्देशसहित रेबिज रोग नियन्त्रणमा हातेमालो गर्न सबैमा अपिल गरेको छ। कुनै पशुमा रेबिज रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शंका लागेमा तुरुन्तै पञ्चदेवल विनायक नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक कर्मचारीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय