हिक्मत बहादुर नेपाली
अछाम जेठ १० ।
जेठ ८ र ९ गते कमलजार नगरपालिका अछाममा आयोजित दुई दिने निःशुल्क आँखा शिविरबाट ३९८ जनाले आँखा स्वास्थ्य सम्बन्धी विविध सेवा लिएका छन् । जस मध्ये १०० जना विरामीको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको शहरी आँखा केन्द्र कमलबजारमा कार्यरत फिल्ड सहायक खगेन्द्र उपाध्यायले जानकारी दिनुभयो । कमलबजार नगरपालिका, ढकारी गाउपालिका र तुर्माखाँद गाउँपालिका नागरिकको शिविरमा उल्लेख्य सहभागीता रहेको थियो । गेटा आँखा अस्पताल गेटा कैलाली, शहरी आँखा केन्द्र कमलबजार नगरपालिका अछामको आयोजना र कमलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय कमलबजार अछाम को समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा निः शुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण गरिएको थियो ।
शिविरमा गेटा आँखा अस्पताल गेटा कैलाली, शहरी आँखा केन्द्र कमलबजारमा सेवारत नेत्ररोग विशेषज्ञ र स्वास्थ्य टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका थिए । न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको थियो । आँखा शिविरमा सेवा लिन आएका सेवाग्राही मध्ये कमलबजार नगरपालिका वडा नं ८ का मने दमाईले पालिकामै विशेषज्ञ सहितको आँखा सम्बन्धी उपचार पाएकोमा खुसी लागेको बताउनु भयो । साथैं उहाँले शिविर आयोजक र सेवा प्रदायक निकाय र व्यक्ति लाई धन्यवाद व्यक्त गर्नुभयो ।
नागरिकलाई स्थानीय स्तरमा आँखा सम्बन्धी बिशेषज्ञ सहितको सेवा प्रदान गर्न शिविर आयोजना गरिएको र नागरिक सो शिविर बाट लाभाम्वीत भएकाले शिविरलाई अर्को बर्ष पनि निरन्तरता दिर्ईने कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको भनाई छ । आज विहान शिविरको एक कार्यक्रमका समापन गरिएको छ । समापन कार्यक्रममा शिविरमा सेवारत विशेषज्ञ स्वास्थ्यकर्मी कर्मचारी लाई सम्मान संगै विदाई गरिएको थियो । कमलबजारमा यस्तो प्रकृतीको शिविर विगत ३ बर्षदेखी पालिकाले विभिन्न सेवा प्रदायक निकायको समन्वयमा सञ्चालन गरिररहेको छ ।









