अछाम, बैशाख ५ ।   अछाम बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्राप्तिको अन्तिम चरणमा पुगेको छ
विश्वविद्यालय अनुदान आयोगको टोलीले वैशाख ३ गतेदेखि ५ गतेसम्म अछाम बहुमुखी क्याम्पसमा अन्तिम चरणको भ्रमण गरी आवश्यक प्रक्रिया अगाडि बढाएको छ । अन्तिम भ्रमण गरी तयार पारिएको प्रतिवेदन एक एक कार्यक्रमका विच टोलीले क्याम्पसलाई बुझाएको छ ।
अयोगका पूर्व अनुगमन संयोजक प्राध्यापक डाक्टर बाल मुकुन्द भण्डारीको नेतृत्वमा आएको टोलीले मंगलसेन नगरपालिकाका प्रमुख समेत रहनु भएका क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदम बहादुर बोहरालाई प्रतिवेदन प्रदान गर्नुभयो ।
प्रतिवेदनमा क्यूएए प्राप्तिका लागि गत वर्ष गरिएको भ्रमणमा पाइएको अवस्था, दिइएका सुझाव कार्यान्वयनको अवस्था र थप गर्नुपर्ने कार्यका बारेमा सुझाव दिइएको छ । आज समापन कार्यक्रममा प्राध्यापक डाक्टर भण्डारीले विभिन्न ४६ बुँदामा सुझाव दिनु भएको छ ।
देशभरका क्यूएए प्राप्तिका लागि ९० क्याम्पस मध्येको अछाम बहुमुखी क्याम्पस पनि एक हो । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा सुधार कार्यका लागि क्यूएए कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका लागि अछाम बहुमुखी क्याम्पस २०७२ सालदेखि लागिरहेको छ ।
अछाम बहुमुखी क्याम्पसमा भएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नगरप्रमुख तथा सञ्चालक समिति अध्यक्ष बोहराले यश क्षेत्रका स्थानीय शिक्षाका लागि हरेक दुःख र सङ्घर्ष गर्दै आइरहेकाले क्यूएए प्राप्तिका लागि पनि प्रतिबद्ध रहेका बताउनु भयो ।
उहाँले बाँकी काम पूरा गर्न र आयोगसँग निरन्तर सम्पर्कमा रही क्यूएए मान्यता प्राप्त गर्न सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै क्याम्पस प्रमुख छत्र बहादुर विष्टले हरेक पक्षको सहयोग र सक्रियताको कारण क्याम्पस यो अवस्थामा पुगेको भन्दै सुझावलाई सुधारको मार्गदर्शन बनाउने बताउनु भयो । साथै यो स्थान सम्म पुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।
प्रतिवेदन प्रस्तुत कार्यक्रममा श्रव्य दृश्य माध्यमबाट बाह्य देशका प्राध्यापक डाक्टर मन्जितसिंह सेन, नेपालका प्राध्यापक डाक्टर शङ्कर थापा, गीता प्रधान लगायत सहभागी भई सुझाव र शुभकामना व्यक्त गर्नु भएको थियो । टोलिमा संलग्न विश्वविद्यालय अनुदान आयोगका आस्मा अधिकारीले यो निरन्तर चलिरहने प्रक्रिया भएको बताउनु भयो ।
अब आफूले अछाम बहुमुखी क्याम्पसको अवस्थाबारे क्यूएए काउन्सिलमा प्रतिवेदन प्रस्तुत गर्ने र त्यसपछि विश्वविद्यालय अनुदान आयोगको बैठक मन पेस भई मान्यता पाउने नपाउने विषयको टुङ्गो लाग्ने बताउनु भयो ।
सहायक क्याम्पस प्रमुख तथा क्यूएए सम्पर्क व्यक्ति ध्रुव कुमार शाहीले क्याम्पसको अवस्था विगतको भन्दा निकै सुधार भएको र अब मान्यता पाउनको लागि अन्तिम चरणमा रहेको भन्दै बाँकी काम पूरा गरेरै छाड्ने बताउनु भयो ।
कक्षा ११ देखि स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्याम्पसमा हाल ८ सय बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्ष देखि व्यवस्थापन संकाय अन्तरगत एम बि एस पठाई भईरहेको छ । आज भएको समापन कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, सञ्चालक समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय