टेकराज भण्डारी, बैशाख १४, अछाम ।
अछाम जिल्लामा प्राविधिक शिक्षालय सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको आंगिक शिक्षालय रहने गरी मंगलसेन बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो ।
सीटीईभीटी सुदूरपश्चिम प्रदेश निर्देशक डाक्टर कुस्माखर भट्टको उपस्थितिमिा प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटी सहित सरोकारवालावीच भएको छलफलले शैक्षिक सत्र २०७९÷०८० देखि स्वास्थ्य ट्रेड अन्तर्गत जनरल मेडिशिन (एचए) कक्षा सञ्चालनका लागि माग गर्ने निर्णय समेत गरेको छ ।
हाललाई अछाम बहुमुखी क्याम्पसको ९ कोठे भवनको पूर्वाधार प्रयोगमा ल्याउन सकिने तथा कक्षा सञ्चालन गर्न प्रयाप्त सहभागिको समेत व्यवस्था हुने भएकाले सञ्चालनका लागि प्रस्तावका साथ सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लक्ष्मण गिरीले बताउनु भयो ।
अछाम जिल्ला अस्पताल तथा वयालपाटा अस्पतालका उपलब्ध जनशक्ति चिकित्सहकरु प्रयोगमा ल्याउन सकिने तथा अन्य व्यवस्थापन समिेत गर्न सकिने अवस्था रहेको टोलीले निष्कर्श निकालेको छ ।
सरोकारवालाको बैठकले तत्कालका लागि कृषि तथा डिप्लोमा ईन मेडिशिन एण्ड एरोबेटिक प्लान्ट, स्वास्थ्य तर्फ जेनेरल मेडिशिन र फार्मेशी र ईन्जिनियरिङ तर्फ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक का कार्यक्रमहरु सञ्चालन गर्न प्रस्ताव गर्ने निर्णय गरिएको मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक दिपक बहादुर भण्डारीले बताउनु भयो ।
बहुप्राविधिक शिक्षालय स्थापनाका लागि पहिले देखि नै पहल भैरहेको पनि ईकाई प्रमुख गिरीको भनाई छ । मंगलसेन बहु प्राविधिक शिक्षालयको नाममा मंगलसेन नगरपालिका वडा नम्बर ३ मा रहेको ४० रोपनी जग्गा समेत पास भैसकेको उहाँले बताउनु भयो । अब केही दिनमा ईन्जिनियरको टोली आई भौतिक पूर्वाधार निर्माणको अध्ययन गर्ने तथा आगामी आर्थिक बर्षमा बजेट बिनियोजन भई निर्माणका काम अगाडी बढ्ने योजना रहेको ईकाई प्रमुख गिरीको भनाई छ ।
लामो समयदेखि प्राविधि शिक्षालयको स्थापनाका लागि पहल भएको र अब यसले सार्थकता पाउन लागेकोमा खुसी लागेको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले बताउनु भयो ।
यो कार्य अघि बढेमा अछाम जिल्ला तथा छिमेकी जिल्लाका लागि समेत ठुलो राहत हुने मंगलसेन नगरपालिकाका निवर्तमान प्रमुख पदम बहादुर बोहराको भनाई छ । लामो समयदेखि आफुले प्राविधिक शिक्षामा जोड दिईरहेको र त्यो सपना साकार हुने क्रममा रहेको निवर्तमान नगरप्रमुख बोहराले बताउनु भयो ।
जिल्लामा सीटीईभीटीको टोलीले अध्ययन गरी निर्णय सहित प्रतिवेदन लिएको र उक्त प्रतिवेदन केन्द्रमा पेश गरी केन्द्रले निर्णय गर्नेछ ।
बैठकमा अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर विष्ट, सामाजिक विकास कार्यालयका प्रमुख धनराज धामी, षोडशादेवि माविका प्रधानाध्यापक मदन बहादुर कुँवर, मंगलसेन नगरपालिकाका अधिकृत मञ्जु महत, वडा नम्बर ३ का अध्यक्ष पदम सिंह भाट, वडा सचिव बालकृष्ण ढुंगाना, ज्ञानदिप आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादुर बोगटी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
हाललाई एच ए का कक्षा सञ्चालन भएमा उक्त विषय अध्ययन गर्न काठमाण्डौँ, नेपालगञ्ज लगायत जिल्ला बाहिर जानुपर्ने अवस्था हट्ने र विद्यार्थी तथा अभिभावकलाई ठुलो राहत हुने मंगलसेन ३ का स्थानीय भोगेन्द्र बोगटीले बताउनु भयो ।