
टेकराज भण्डारी, जेठ २५
पछिल्ला ३ दिन लगातार संघीय संसदमा अछामकाे पञ्चदेवल विनायक नगरपालिका -४ का १६ बर्षिय विनाेद शाहीकाे हत्यामा संलग्नलाई कारबाहीकाे माग उठेपछि सभामुखले दाेषीलाई पत्ता लगाई कारबाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
बुधबारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएकाे हाे ।
आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएकाे थियाे । उहाँले भन्नुभयाे – ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, हत्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’
साेमबार तथा मंगलबारकाे प्रतिनिधि सभा बैठकमा पनि उक्त घटनाबारे सांसद बाेगटीले प्रश्न उठाउँदै दाेषीलाइ छिटाे कारबाहीकाे माग गर्नुभएको थियाे ।
घटना भएको झण्डै ९ दिन बितिसक्दा पनि प्रहरी प्रशासन जिम्मेवार नभएको भन्दै सांसद बाेगटीले संसदमा आक्राेश व्यक्त गर्दै गर्नुभएको थियाे ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।
‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’ सभामुख सापकाेटाले भन्नुभयाे ।
मंगलबार पनि संसदमा यस घटनाका विषयमा कुरा उठेकाे थियाे । सांसद बाेगटी लगायतका माननीयले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँडले घटनाबारे किटानी जाहेरी दर्ता हुने र घटनाबारे न्यायिक समिति गठन गरी दाेषीलाई कारबाही हुने बताउनु भएकाे थियाे ।
तर बुधबार दिउँसोसम्म पनि मुद्दा दर्ता नगरेकाे भन्दै सांसद बाेगटीले संसदमा सभामुखकाे ध्यानाकर्षण गराउनु भएको हाे ।
यसअघि गत आईतबारकाे प्रतिनिधि सभा बैठकमा घटना भएकाे पञ्चदेवल विनायक ४ कालिकास्थान घर भएका सांसद राम बहादुर विष्टले पनि युवक हत्यामा संलग्न दाेषीलाई कारबाहीकाे माग गर्नुभएको थियाे ।