अछाम, १८ असार ।
कालिकास्थानका विनोद शाहीको हत्यामा संलग्नलाई महिना बित्दापनि पक्राउ गरेर अनुसन्धान नभएको भन्दै अछामका पाँच दलले दुई दिन सवारी साधन बन्द गर्ने भएका छन् । अछामस्थित नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले संयुक्त शनिबार प्रेस विज्ञप्ति जारी गरेर असार १९ र २० गते सम्पपूर्ण सवारी साधन बन्द गर्ने भएका हुन् । जिल्लाभित्र र जिल्ला बाहिर चल्नै सरकारी र नीनि दुवै प्रकारका सवारी साधन बन्द गर्ने दलले जानकारी दिएका छन् ।
किटानी जाहेरी गरिएका व्यक्तिलाई हिरासतमा लिई अनुसन्धान नहुनुले हत्याराले सत्ता र शक्तिको सत्ताको आडमा उन्मुक्ति नपाउन भन्नका लागि सवारी साधन बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । स्वतन्त्रपूर्वक निष्पक्ष रुपमा सत्य तथ्यको आधारमा दोषि नउम्किन र निर्दोश नफसेर पीडित परिवारलाई न्याय दिलाउन दुई दिने बन्द गरिएको बताइएको छ । यातायात बन्द हुँदा पर्ने असुविधाप्रति सचेत भएपनि पीडित परिवारको न्याय र हत्यारालाई कानुनी कठघरमा उभ्याउन दवाव स्वरुप दुई दिने बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बालकको हत्यामा संलग्न भएको आरोपमा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, जिसस उपप्रमुख दानमती शाही, पूर्ववडा अध्यक्ष सज्जनबहादुर शाहीलगायत १३ जना विरुद्धमा किटानी जाहेरी दिएको छ । झण्डै एक महिनासम्म कर्तव्य ज्यान मुद्धाका व्यक्तिलाई सत्ताको आडमा पक्राउ नगरी संरक्षण गरिरहेको पीडित पक्षको भनाइ छ । किटानी जाहेरीमा नाम भएका सबै व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनका लागि पीडित पक्षले माग गरिरहेको छ । यता अछाम प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै आएको छ । तर जेठ २४ गते पक्राउ परेका पाँच जना बाहेकमा प्रहरीको अनुसन्धानले प्रगाति नगरेकोमा जिल्लामा चर्चा हुन थालेको छ ।
जेठ १७ गते घरबाट वेपत्ता भएका १६ वर्षीय विनोद शाही २१ गते शनिबार बिहान पञ्चदेवल क्याम्पस नजिकको सडक भन्दा तलको जंगलको खोचमा मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेलुकी प्रहरीले गाउँमा गएर लछारपछार गर्न थालेपछि विनोद वेपत्ता भएको पीडित पक्षको दाबी रहेको छ । प्रहरीले किटानी जाहेरी लिएपछि जेठ २५ गते मात्र शव घटनास्थलबाट उठाएर पछिल्लो दिन पोष्टमार्टम गरिएको थियो । घटनास्थलका बारेमा सिआइबीले समेत अनुसन्धान गरिरहेको भनिएपनि पावरको आधारमा आफूले न्याय नपाउने मृतकका परिवारको भनाइ छ । किटानी जाहेरी दिएका व्यक्तिलाई नियन्त्रणमा लिएर छानविन गर्न माग गर्दै पीडित पक्ष र पञ्चदेवल विनायक नगरपालिकास्थित राजनीतिक दल, अगुवाहरुले पटक पटक आन्दोलन गर्दै आइरहेका छन् ।
ADVERTISEMENT


