
१८ साउन, अछाम । अछामको रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले गाउँपालिका अध्यक्षकी श्रीमतीलाई भान्से नियुक्त गरेको स्वीकार गरेका छन् । तर श्रीमतीलाई भान्से राख्न सल्लाह आफूले नदिएको उनको दाबी छ ।
गाउँपालिका कार्यालयले अध्यक्ष मानबहादुर साउदकी श्रीमती जयसरालाई जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि भान्सेमा नियुक्ति गरेको छ । सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्ता पाउने छिन् ।
श्रीमतीलाई भान्से बनाएपछि गाउँपालिका अध्यक्ष साउदको चर्को आलोचना भएको छ ।
नेपाली कांग्रेस अछामका नेता कार्यकर्ताले भने अध्यक्ष साउदलाई प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गलत सल्लाह दिएर फसाएको आरोप लगाएका थिए ।
भण्डारीले यसबारे बोलेका छन् । अध्यक्ष साउदकै निर्देशनमा उनकी श्रीमती जयसरालाई भान्से पदमा नियुक्ति दिएको उनले बताएका छन् ।
कार्यालयका लागि एक जना भान्से राख्न सल्लाह आफूले दिएको र त्यसअनुसार गाउँपालिका अध्यक्ष साउदले पहिला अर्कैको नाम दिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।
पछि आफ्नै श्रीमतीलाई भान्से राख्न प्रस्ताव गरेको र त्यसअनुसार निर्णय भएको उनको दाबी छ । गाउँपालिकाको फेसबुक पेजमार्फत भण्डारीले भनेका छन्, ‘अध्यक्षज्यूबाट १ जना साउद थर गरेको व्यक्तिको कागजात दिएको र उक्त कागजात मैले बुझी लिएको, केही समयपछि अध्यक्षज्यूबाट हाकिमसाव अस्तिको नगरौं अब यो काम गरौं भनी म्याडमको प्रस्ताव आएको र मैले यो गर्ने र ? भनी सोध्दा हो यहि गरौं भन्ने निर्देशन प्राप्त भएको र मैले हुन्छ भनेको !’
रामारोशन गाउँपालिका-६ का भरतबहादुर साउदले सूचना माग गर्दै निवेदन दिएपछि अध्यक्षकी श्रीमती भान्से नियुक्त भएको सूचना बाहिरिएको थियो ।
copy by onlinekhabar