अछाम ,१६ कार्तिक। लगातार १० दिनसम्म देवताको धेवल आराधनासहित लाग्ने अछामको एकमात्रै केदारनाथ मेला जारी रहेको छ ।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला केदार र छडाल देवताको आराधनासहित मन्दिरमा दूध र घ्यु खाने गर्दछन् ।
हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पूजा आराधाना र धामीले खला नाच्ने गर्दछन् । यो बर्ष कात्तिक १३ गतेदेखि मेला शुरु भएर कात्तिक २१ गते समापन हुने केदारनाथ मन्दिरका पुजारी खडकराज खतिवडाले जानकारी दिनुभयो ।
विगतका वर्षमा कात्तिक शुक्ल त्रयोदशीको दिन ठुलो सङ्ख्यामा व्यक्तिको उपस्थिति सहित रात्रि मेला लाग्ने गरेकोमा पछिल्ला दुई बर्ष कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको कारण नित्य पूजासहित मेला समापन गरिने गरिएको थियो ।
यो बर्ष फेरी मेलामा रौनकता छाउने साबिकको सेरा गाविसका पूर्व अध्यक्ष दिपक अधिकारीले बताउनुभयो ।
१० दिनसम्म देवताको पूजा, खला नाच्ने र रात्रि मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको विशेषता हो ।
अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।
रात्रि मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय काँसीराम खतिवडाले बताउनुभयो ।
धामीको नाच रात्रि मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् ।
परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यही बेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खतिवडाले बताउनुभयो ।
१० दिनसम्म लाग्ने मेला र मेलालाई दोस्रो दसैँको रुपमा यस क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । हिंसात्मक रुपमा मेला मनाइने गरिन्छ भने देवताका धामी दलित समुदाय र पुजारी गैर दलित समुदायका रहेका छन् । यसबाट केदारनाथ मेला अहिंसा र सद्भावको पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाको भनाई छ । दसैँमा घर आउन नपाएकाहरू यति वेला घर आउने गर्दछन् ।
यो बर्ष मेलालाई थप व्यवस्थित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आफूहरूले समन्वय गरिरहेको वडा नम्बर ७ का वडा सदस्य बलबहादुर भण्डारीले बताउनुभयो ।
source .onlineradionepal.gov.np