कमलबजार, मंसिर १८ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आईतवार कमलबजारमा सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम आयोगका कार्यालय प्रमुख राम बहादुर कुरुवाङको अध्यक्षमा भएको हो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख कुरुवाङले स्थानीय सरकारलाई नीतिगत ढङ्गले काम गर्न सुझाव दिनुभएको छ ।
साथै उहाँले स्थानीय सरकारले गलत नियतले कार्य गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएमा कानुन अनुसार कारवाई गरिने पनि चेतावनी दिनुभयो ।
अख्तियार प्रमुख कुुरुवाङले मङ्गलसेन कमलबजार र पञ्चदेवल विनायक नगरपालिमा जोडिएको मध्य पहाडी सडक निर्माणको काम गुणस्तरहिन रहेको भन्ने गुनासो नागरिकबाट आएको हुँदा यसको बारेमा अनुसन्धान गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिमा कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल रहनुभएको थियो । प्रमुख अतिथि ढकालले स्थानीय सरकारलाई सहि तवरबाट चल्न सुझाव सहितको अन्तरक्रिया कार्यक्रम गरेको प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरलाई धन्यवाद दिनुभएको छ ।
नीति नियम विधि पद्धति अनुसार स्थानीय सरकारले गर्ने काम गर्न आफुु र आफनो नगरपालिका प्रतिबद्ध रहने पनि बताउनुभयो ।
कार्यक्रमको विशिष्ट अतिथिमा कमलबजार नगरपालिकाका उपप्रमुख शारदा कुमारी विष्ट प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर विष्ट रहनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूको गुनासो तथा प्रश्नको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सिनियर इन्जिनियर प्रेम नारायण ढकालले दिनुभएको थियो ।
कार्यक्रमको कमलबजार नगरपालिकाका विभिन्न शाखा प्रमुख १० वटै वडाका वडा अध्यक्ष पत्रकार सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।