शिव प्रसाद जैशी
जामा, अछाम
हाल
क्याम्पस प्रमुख
नेपाल माउण्टेन एकेडिमी बिजुली बजार काठमाडौं
संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालय
हरेक बर्ष कात्तिक शुक्ल पन्चमी देखि कार्तिक शुक्ल चौदशी (चतुर्दशी) सम्म जम्मा ९ दिन जात्रा (मेला) लाग्छ। सम्भवतः देशकै लामो
जात्राका रुपमा मनाइने यो पर्वको आफ्नै विधी छ। कार्तिक शुक्ल पन्चमीका दिन। चोखो निउतो गरी पर्वको प्रारम्भ हुन्छ। केरदारका
दुई धामी र छडालको एक गरी जम्मा तिनवटा घरमा पुजाआजा र धामी बस्ने शुरु हुन्छ। पुजारिको घरमा नित्य पुजा हुने नैं भयो।
पुजाआजा पुजारी र धामीको घरमामात्र भए पनि गाउँमा बस्ने सम्पूर्ण जातजातिका मानिसहरु चोखो बस्छन्। नयाँ लुगाको जोहो
गरीसकेका हुन्छन्। कथमकदाचित नयाँ लुगा सिलाउन सकिएन भने पुरानोलाई धोइपखाली शुद्धपारिन्छ। पुरै मानिसहरु के वाहुन, के
झेत्री, के ढोली, के कामी यो गाउँमा बसोबास गर्नेहरु सबै अनुष्ठानमा हुन्छन् यो नौ दिनको अविधिभरका लागि।
नौ दिन सम्म हरेकदिन बेलुका धेवर लाग्छन्। पंचवाबाजालाई देवताको बाजाको धुन दिएर बजाइने बिधीलाई धेवर लाउने भनिएको
हो। पुजारी र धामीहरु भने पुर्णतया ब्रत बसेको हुन्छन्। पुजारी र धामीहरुले बेलुकाको पुजा सकेपछि एक छाक चोखो खानामात्र खाने
चलन छ। विहानको पुजाआजा निरन्तर चलिरहन्छ। भक्तालुहरु विहान र बेलुका धामी हेराएर आफ्नो र आफ्नो परिवारको सुख
शान्ति र समृद्धिको कामना गरिन्छ र देवताबाट आशिर्वचन ग्रहण गर्छन्।
खतिवडा र जोशीहरुको कुलदेवता केदार भएकोले केदारको जात्रा भन्ने पनि गरिन्छ। वास्तवामा पुजा पनि केदार कै गरिने हो।
कार्तिक शुक्ल पंचमिमा शुरु भएको हरेक दिनको धेवर सकिएपछि दैनिक रुपमा नजिकका गाउँबाट आएर मानिसहरु रमाइलो गर्ने
गर्छन्। सानो जात्रा (मेला) पनि निर्नतर रुपमा चलिरहन्छ। त्रयोदशीको राती ठुलो मेला लाग्छ। एकतिर मेला चलि रहेङ्को हुन्छ भने
अर्कोतिर रातको मध्याह्नमा धामीहरु आएर अहिलेको मुल घरमा नाच्दछन्। बाघको रुपधारण गरेर केदार र बेतालका धामीहरु
बाघको चालमा नाच्छन्। स्थानीय स्तरमा धामीहरु बाघ बिल्ला (बिरालो) भएर नाचेको भन्छन्। छडालको धामीले घरको माथिल्लो
तलाबाट खन्याइको पानिको धारामा मुख लगाएर पानी पिउने गर्छ। खतिवडा परिवारहरु डोटीबाट आएर बसेको मुल स्थान हाल
आटी घर भनिने ठउँमा धामी पुगेर देउता गादी बस्नै पर्छ। यो कुरा परिवार र गाउँले वाहेकका अरु रम्चेरुहरुलाई पत्तै हुदैन। भोली
पल्ट विहान अर्थात चतुर्दशीमा जामा गाउँको माथि केदारमाणु भन्ने ठाउँमा जहाँ केदारकोशीला वा दुधेशिल्ला छ त्यो माणु ( थान/
मन्दिर) मा पनि एकातिर पुजाआजा होम चलिरहेको हुन्छ भने अर्कोतिर मनोरन्जन गर्नेहरुले न्याउले खेलखेली रमाइलो गरीरहेका
हुन्छन्।
श्रावण भाद्र देखी शुरु हुने यस क्षेत्रका जात्राहरुमा अन्तिम कार्तिक मंसिरतिर पर्ने पछिल्लो जात्रा भएकोले यसलाई “पछन जामाआ
जात्रु” भन्ने चलन छ।न्याउले खेल्नेहरु जतिसुकै धेरै गीत गाए पनि एउटा चाहिं अनिवार्य रुपमा भन्छन् र गाउछन्।
बतु भैंसा भोकाई रन्ना रुख नजा फिर्का।
पछन जामाआ जात्रु फाल मनको तिर्खा।।
अर्को एउटा उखान पनि प्रचलित छ “दिदी बैंनीको भेट केदारको जात्रा”। सायद खेतवारीको काम सकिएर फुर्सदको समय भएकोले
यो जात्रा भेटघाटका लागि अनुकुल पर्दो हो र भेटघाटको अवसर जुर्दो हो। दिदी वहिनी भेटेर मनका कुरा धित मर्ने गरी भन्न पाउदा
हुन्। भलाकुसारी हुँदो हो।
विशेष गरी खतिवडा र जोशीहरुको कुल देवता भएकोले उनिहरुले यो अबधी भर माछामासु खानु हन्न भन्ने चलन छ। त्यो गाउँमा यो
अबधीमा काटमार गर्न बर्जित छ। दुधेशिल्लाको रुपमा शिलामा दुध ढोलेर पुजाको समापन गरिन्छ। प्रसादको रुपमा दुधमा मुछेका
चामल दुधचावल र खिर वितरण र ग्रहण गर्ने चलन छ।
केदार अर्थात महादेव पर्वततिर बस्ने भएकोले होला यो शिला पनि पर्वततिरै राखिएको छ। महादेवको अर्को रुप केदार भएकोले
कुलदेवताको रुपमा यो गाउँमा बसोबास गर्ने खतिवडा र जोशी अहिले धेरै जसोले जैशी लेख्न गरेका अनि कामी र ढोलीहरुले पुरा
अनुष्ठानमा रहेर बिधीपुर्वक पुजा गर्छन्। केदारमाणु नजिकै छडालको थान पनि छ। छडाल पनि खतिवडा, जोशी, कामी र ढोलीहरु
सबैले पुज्ने भए पनि यो थानमा भने छडालको धामी ढोली र ढोलीहरु मात्र प्रवेश गर्छन्। केदार र छडालको रुपमा सबै जातजातिले
समान रुपमा श्रद्धा र भक्तिपूर्वक सम्मान गर्ने चलन छ।
कहिले देखि चल्यो यो चलन भन्नेकुरा आजको पुस्ताले जान्न जरुरी छ। म यो आलेख तयार गर्ने अहिले तह्रौं पुस्तामा छु। पहिलो
पुस्ताको रुपमा कासी उपाध्याय डोटीको खत्याडिबाट बसाईसराई गरी यहाँ आउछन्। साथमा एक परिवार रजवार (जेठाको सन्तान),
एक भाइ जोशी, कामीको सानो बच्चा र ढोलीकी गर्भवती श्रीमती पनि आउछन्।
डोटीको खत्याडिमा बसोबास भएका अत्री गोत्रका वंशहरु उपाध्याय, जोशी, ओझा र मिश्रहरु मध्यका जोशी र उपाध्यायहरु अनि
कामी र ढोलीहरु मात्र आउछन्। साथमा कुलदेवता केदारको शिला पनि ल्याउछन्।
बाटोमा ढोलीको श्रीमती सुत्केरी भएर छोरा जन्मिन्छ। नवजात शीशुलाई ब्राम्हणले आफ्नो गोदमा लिएर न्यानो पर्छन्। सुत्केरी र
नवजात शीशुको पालन पोषण रेखदेख तिनैं ब्राम्हणले गर्दछन्। हालका ढोली र कामीका सन्तानहरु तिनै बालक र बाटोमा जन्मिएका
सन्तानहरु हुन्। हाल सम्म पनि ति ढोली र कामीहरुले तिम्रा गेदमा अर्थात काखमा हुर्केका हौं र हाम्रो तिमीहरुमाथि हकभोग लाग्छ
भनेर दाबी गर्छन् जुन कुरा इतिहासतः सत्य हो। उनिहरुको दाबी सतप्रतिसत सत्य हो। हामी ब्राम्हणहरुका पुर्खाहरुले दिएको अर्ति
अनुसार पनि यो दाबी गलत छैन। ब्राम्हणरुले नैं बालक, नवजात शिशु र आमाको लागि बसोबास व्यवस्था गर्नु कर्तव्य भित्रै पर्थ्यो
होला। अर्को तर्फ ब्राम्हणहरुलाई पनि कार्य विभाजनको कारणले उनिहरुको आवश्यकता थियो होला। तिनै कामी र ढोलीहरुका
सन्तान हुर्के बढेपछि ब्राम्हणहरुका लागि बलिया खम्बा बनेर त्यो गाउँ बसोबास गर्ने ब्राम्हणहरुले स्थानीय स्तरमा नेतृत्व लिएको र
प्रदान गरेको कुरा पनि साँचो हुन सक्छ।
बडो रोचक तथ्य के छ भने डोटीमा ब्राम्हणहरु पुजारी थिए र बोहराहरु धामी थीए। अहिले पनि छन्। धामीले दुधको भोग गर्थे।
देउताको शीला आयो तर बोहराहरु बसाई सर्ने क्रममा आएनन्। केदारमाणुमा थानको निर्माण भयो शिलाको प्राण प्रतिष्ठा पनि भयो
तर धामीको टुङ्गो लगाउन गाह्रो भयो। ब्रामण पुजारी त भए। धामी हुन मिलेन। अब धामीको संकट टार्न कामीलाई धामी बनाउने
दुधको सट्टा घ्यू खुवाउने चलन चलाइयो। तत्कालिन अवस्थाको जातिए विभेदका कारण दुध कामीलाई छुवाउन हुन्थेन भने घ्यू चाहिँ
दिन मिल्ने रहेछ।
अहिलेका पुजारी तिनै रजारका सन्तान हुन्। रजवार र जोशीको कुन चाहिं बाज्य आएका थिए भन्ने कुरा मेरो हाल सम्मको
जानकारीमा नभएकोले यसको खोजी गरेर पुन लेख्ने छु।
इतिहास कोट्ट्यादै जाँदा यो जामा जात्रु, हाम्रो बसाई र केदारको जात्रा कहिले देखी प्रचलनम आयो भन्ने कुराको सजिलै अनुमान
लगाउन सकिन्छ। यदि एक पुस्ता पच्चिस बर्षको गणना गर्ने हो भने आज म तेह्रौ पुस्तामा छु र यसैका आधारमा करिव तिन सय बर्षको
हारहारी देखि यो चलन चलेको हुनु पर्छ। नेपाल एकिकरणको प्रारभ्भिक काल हुन सक्ने अनुमान लगाउन सकिन्छ केदारको थानको
स्थापना। समयक्रममा विभिन्न रुपले परिमार्जन भयो होला। भारतको उत्तराखण्ड डोटी बोग्टान क्षेत्रको बड्डि केदार लागयतका
पवित्रस्थलहरुम पनि कार्तिक शुक्ल चौदशी (चतुर्दशी) होम हुने पुजा गरिने भएकोले यसको ऐतिहासिक र पौराणिक महत्व छ
भन्नेमा कुनै संका छैन। समग्रमा यो जात्रा हिंसा रहित समाजिक सद्भाव जातिय एकताको प्रतिकको रुपमा लिन सकिन्छ।




