हिक्मत बहादुर नेपाली
अछाम श्रावण १० ।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ९ मा बँदेलले मकै खान थालेपछि किसान चिन्तित भएका छन ।वडाको पानीमुल टोलका किसानले लगाएको मकै बाली बँदेलले खान थालेको हो । पाक्नै लागेको बारीमा बँदेल पसेर मकै बाली सखाप पार्न थालेको स्थानीय किसान हर्क रावतले बताउनुभएको छ ।दिउँसो सुगा सहितका चराचुरुङ्गी र रातिमा बँदेलले मकैबारी खान थालेको बताउँदै स्थानीय रावतले मकैबारी जोगाउन चुनौती थपिएको दुखेसो पोख्नुभयो ।
रातभरी जाग्राम बस्दा पनि मकैबारी जोगाउन नसकिएको अर्का स्थानीय नन्दराम रावतले बताउनुभयो ।मकैको घोगा लाग्ने बेला रातीमा बँदेलको बथान आएर सखाप पारेपछि गुजारा चलाउन समस्या हुने भन्दै स्थानीय किसान चिन्तामा रहेको रावतले बताउनुभएको छ ।
स्थानीय कृषक तारा रावत र दिलु रावतले निकै मेहनत गरेर लगाएको मकै बदेलले सखाप पारेेपछि अब के खाने र कसरी जिवीकोपार्जन गर्ने भन्ने चिन्ताले सताएको बताउनु हुन्छ । सोही ठाउँका अगुवा कृषक बम बहादुर रावलले यो समस्या लाई तीनै तहको सरकारले गम्भीर रुपमा लिनुपर्ने र समाधानको उपाए खोज्नुपर्ने बताउनु हुन्छ ।
किसानले सम्बन्धित निकाय समक्ष राहतको माग गरेका छन भने जङ्गली जनावरको नियन्त्रण गर्न स्थानीय सरकारले केही पहल गर्नुपर्ने माग समेत गरेका छन ।
स्थलगत रिपोर्टिङका क्रममा कमलबजार नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक वृख बहादुर बिष्टले कृषकको मकैखेतीमा धेरै क्षति पुर्‍याएको विवरण संकलन गरेर पालिकामा राख्ने र नगर सरकारले कृषकको समस्यालाई मध्येनगर गरि उचित निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । अछाम जिल्लाका अन्य पालिकाका किसानले लगाएका मकै पनि बँदेलले खान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय