हिक्मत बहादुर नेपाली
अछाम मंसिर ३ । जिल्ला निर्वाचन कार्यालय अछाममा ९ सय ४६ मतदाता थपिएका छन् । पुरुष ६ सय २ र महिला ३ सय ४४ गरि कुल ९ सय ४६ नयाँ मतदाता थपिएका हुन । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि हालसम्म ९ सय ४६ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका निमित्त सूचना अधिकारी शरस बुढाले जानकारी दिनुभयो । असोज १० गते देखी मंसिर ०२ गते सम्ममा सो संख्यामा मतदाता थपिएका हुन । पछिल्ला केहि दिन यता दैनिक ५० को हाराहारीमा जिल्लाका विभिन्न भुभाग बाट मतदाता नामावलीमा दर्ता हुन आईरहेको सूचना अधिकारी बुढाले बताउनु भयो । मतदाता परिचयपत्रका लागि अनलाईन प्रणाली बाट विवरण भर्न पाउने र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकको आधारमा मतदाता परिचयपत्रमा लिङ्क गर्न मिल्ने व्यवस्था अनुरुप उक्त प्रकृया बाट थपिने संख्या ५ गते पछी मात्र निर्वाचन कार्यालयको तथ्यांकमा समायोजन हुने भएकाले सो संख्या अझ बढ्ने उहाँले बताउनु भयो । पहाडी जिल्ला बाट बसाईसराई गर्नेको संख्या बढिरहेको समयमा यो संख्यामा मतदाता थपिनु उत्साहजनक रहेको उहाँको भनाई छ ।
९ सय ४६ मतदाता थपिए संगैं अछामका हाल सम्म कुल मतदाताको संख्या १ लाख ६१ हजार ३ सय ६७ पुगेको छ । जसमा महिलाको संख्या ८२ हजार ४० र पुरुषका संख्या ७९ हजार ३ सय २५ र अन्य २ जना रहेको सूचना अधिकारी बुढाले बताउनु भयो । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले ५ दिन म्याद गरेपछी सुरुवाती दिन भन्दा पछिल्लो एक हप्ता देखी अत्याधिक भिडभाड बढेको जिल्ला निर्वाचन कार्यालय अछामका कम्प्युटर अपरेटर दिलिप रानाले बताउनु भयो । मतदाता नामावली दर्ता संगै त्रुटी सच्याउने र मतदाता केन्द्र परिवर्तन गर्ने कार्य समेत भईरहेको अपरेटर रानाले बताउनु भयो ।
जिल्ला निर्वाचन कार्यालय अछाममा मतदाता नामावलीमा नाम दर्ता गर्न आउनु भएका ढकारी गाउपालिका स्थायी ठेगाना भएका प्रेम थापाले कार्यालय बाट छिटोछरितो सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । यस्तै अर्को सेवा ग्राही रामारोशन गाउपालिकाका प्रकाश रोकायाले मतदाता नामावलीमा नाम दर्ता गरे संगै निर्वाचनमा भाग लिन उत्सुक रहेको बताउनु भयो । निर्वाचन कार्यालयमा नयाँ मतदाता परिचयपत्रका लागि आउनेहरूमा अधिकांश नयाँ पुस्ताका युवाहरू बढी मात्रामा रहेका छन् । आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ ।






