३४ औ अपांगता दिवस अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजनागरि मनाईएको छ । जिल्लाका १० वटै पालिकाहरुमा पालिका स्तरिय अपांग उत्थान समुहले कार्यक्रमको आयोजनागरि दिवस मनाएका हुन । यस अवसरमा सरोकारवाला संग अन्तरक्रिया तथा छलफल गर्दै अपांगता भएका व्यक्तिहरुका समस्याका बारेमा जानकारी गराएका थिए । दिवसको अवसरमा अछाम जिल्लामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि अपांगता भएका व्यक्तिहरुले आफुहरुका सवालमा सरोकारवाला गम्भिर नभएको गुनासो गरेका छन ।
विगतमा अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा प्रतिशतका आधारमा बजेट आउने र त्यो रकम अपांगता भएका व्यक्तिहरुको नेतृत्व र व्यक्तित्व विकासका क्षेत्रमा खर्च गरिने भएपनी अहिले भने त्यो पनि नआउदा अपांगता भएका व्यक्तिहरुका सवाल ओझेलमा परेको गुनासो गरेका थिए । स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुको समस्या पहचिान गर्दै उनीहरुको आवश्यक्ताका आधारमा कार्यक्रम बनाउनुपर्ने भएपनी त्यो हुन नसकेको गुनासो गरेका छन । अहिले पनि दुरदराजका अधिकांश अपांगता भएका व्यक्तिहरु अपांगता कार्ड नपाएर बसेको भन्दै उनीहरुको लागि विशेष शिविरको आयोजना गर्दै कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताएका छन ।
अछाम जिल्लामा अहिले पनि आपंगता भएका व्यक्तिहरुले आफ्नो न्युनतम आवश्यक्ता पनि पुर्ति गर्न नसक्दा थप समस्यामा परेका छन । जिल्ला अपांग उत्थान समुह अछामका अध्यक्ष जंग बहादुर विकले सरकारको गैरजिम्मेवारीपनका कारणले आज अपांगता भएका व्यक्तिहरु हरेक क्षेत्रमा पछाडी परेको गुनासो गर्नुभएको छ । आफुहरुले पटक पटक सरोकारवालालाई यसबारेमा जनाकारी गराएपनी कुनैपनी निकायबाट सुनुवाइ नभएको बताउनुभएको छ । कुनैपनी सरकारी कार्यालयहरु अपांगमैत्री बन्न नसकेको उहाको गुनासो थियो । जिल्लाका स्थानीय पालिकाहरुले पालिका स्तरमा अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै शिविरको आयोजना गर्नुपर्ने र त्यसका लागी आफुहरु समन्वयको भूमिका खेल्न तयार रहेको उहाको भनाई रहेको छ ।
अपांगता भएका व्यक्तिहरुलाई सहयोग गरिदिन समेत उहाले सबै सरोकारवाला लाई आग्रह गर्नुभएको छ । अध्यक्ष विकको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उप प्रमुख रावलले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै मंगलसेन नगरपालिकाले आय आर्जन संग जोडीने विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
गत आर्थिक वर्षमा पनि आपंगता भएका व्यक्तिहरुलाई बाखा्र वितरण देखी अन्य सीप मुलक तालिम समेत संचालन गरेको सोही अवसरमा जानकारी गराउनु भएको थियो । आगामी दिनमा अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा बजेट निर्माण गर्दा विषेश ध्यान दिने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा मंगलसेन नगरपालिका वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, नेपाली काग्रेसका मिना ढुंगाना, वडा सदस्य सुरत बहादुर विक, आस्था नेपालका पवन गिरी, आस्था नेपालका हर्क बहादुर बलायर लगायतको सहभागिता रहेको थियो । यस्तै अछाम जिल्लाका अन्य पालिकाहरुमा पनि आपंगता दिवस मनाईएको खबरहरु आएका छन ।




