हिक्मत नेपाली
अछाम, चैत्र १० ।
विश्व क्षयरोग दिवस मार्च २४ को अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । हो हामी क्षयरोग अन्त्य गर्छौ भन्ने नाराका साथ मनाईएको यस बर्षको विश्व क्षयरोग दिवसका अवसरमा अछाममा पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अछामका बिभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरुको सहभागीतामा भएको अन्र्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले अछाम जिल्लामा क्षयरोगको बर्तमान अवस्था, समस्या र चुनौतीको बारेमा जानकारी गराउनु भएको छ । चेतनाको अभावका कारण अझै पनि गाउँटोलमा रोग लुकाउने गरेकाले क्षयरोग नियन्त्रणमा चुनौती थपिँदो रहेको उहाँले बताउनुभयो ।
अछाममा बिरामीहरुले २÷३ महिना औषधी नियमित सेवन गर्ने र पछि केही सञ्चो भएपछि औषधी खान छाड्ने गरेकाले रोग बल्झिने क्रम बढ्दो रहेको उहाँको भनाई छ । दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुने भएकाले बिरामीले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।
अझैपनि समाजमा उपचार गर्नुपर्छ भन्ने जानकारी पुर्ण रुपमा विस्तार हुन नसकेकाले अब यसको ब्यापक प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न उहाँले अनुरोध गर्नु भएको छ ।
हाल अछाममा ७८ जना क्षयरोगीका बिरामी रहेको तथ्यांक सार्वजनिक भएको छ । बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको फागुन सम्म उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । आर्थिक बर्ष २०७९ को साउन देखि पुस सम्म ७३। १ प्रतिशत बिरामी निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क छ । नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान छ । यस्तै, क्षयरोगका कारण झण्डै १७ हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले सुचना प्रचारप्रसारमा कुनै कमी नहुने बताउनु भएको थियो । स्वास्थ्य कार्यलय अछामका मेडिकल ल्याब अधिकृत मिन बहादुर कुवँरले सञ्चालन गर्नु भएको अन्तरक्रियामा जिल्लास्थीत पत्रकार तथा सञ्चारकर्मीको उपस्थीती रहेको थियो ।






