अछामको ढकारी गाउँपालिकाले छाउपडी प्रथाको अन्त्यका लागि कानुन निर्माण गर्ने भएको छ । पालिकामा अहिले पनि छाउपडी प्रथा कायमै रहेकाले यसको अन्त्य गर्नका लागि कानुन निर्माण गर्ने भएको हो । स्थानीय सरकारले तत्काल कार्यविधि ल्याएर कानुन निर्माण गरि कार्यन्वयनमा ल्याउने योजनाका साथ तयारी अगाडी बढाएको गाउँपालिकाले जनाएको छ । शुक्रबार पालिकामा सम्पन्न भएको जिल्ला स्तरिय सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय बैठकमा पालिकाले यो विषयमा जानकारी गराएका हो । स्थानीय सरकारले कानुन बनाउदा कामगर्न पनि सजिलो हुने भएकाले आगाी दिनमा यसका विरुद्ध काम गर्दा त्यही कानुनमा टेकेर कानुनी काम कार्बाही अगाडी बढाउन सजिलो हुने भएकाले कानुन निर्माण गर्न लागीएको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले बताउनुभयो ।
उहाले भन्नुभयो हामीले छाउपडी प्रथाको अन्त्यका लागि पालिका स्तरमा पनि विभिन्न गतिविधि संचालन गरेका छौ, तर कानुन निर्माण नहुदा गतिविधि प्रभावकारी बनाउन सकेका थिएनौ यसपाली भने कानुन निर्माण गरेरै भएपनी छाउपडी प्रथाका विरुद्ध अभियान संचालन गर्ने जानकारी गराउनु भएको थियो । अब कानुन निर्माण गरि छाउपडी प्रथा मान्य र मान्न बाध्यपार्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउ सजिलो हुने अध्यक्ष साउँदको भनाई छ ।
यो प्रथाका कारणले धेरै महिला तथा किशोरीहरुले ज्यान गुमाउनुका साथै दुख पाईरहेकाले अब यो प्रथा अन्त्य गर्नका लागि पुन एक पटक विशेष अभियान संचालन गर्ने अध्यक्ष साउदले बताउनुभयो । बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले फागुन भित्र छाउपडी गोठमुक्त पालिका घोषण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । पालिका स्तरको समिति गठन भईसकेको र अब वडा तथा टोल स्तरमा समिति गठन गरेर थप कार्यक्रम गर्ने जानकारी गराउनुभएको थियो ।
बैठमा सहभागी अन्य सरोकारवालाहरुले पनि अब यो अभियानलाई परिणमुखी बनाएर लैजाने प्रतिबद्धता जनाएका थिए । यो प्रथाका कारणले जिल्लाका जनप्रतिनिधि तथा अन्य सरोकारवाला पनि आलोचित भईरहेकाले यसको अन्त्यका लागि पुन एक पटक सबै जिल्ला बासी जुरुक्क उठ्न आवश्यक रहेको बताएका छन ।
सोही अवसरमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन प्रसाद रिमालले पालिका स्तरमा छाउपडी प्रथाको अन्त्यका लागि भईरहेका पहल कदमीका बारेमा जानकारी गराउनुभएको थियो । महिला, बालबालिका तथा किशोरीहरुको क्षेत्रमा पालिकाले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेको र आगामी दिनमा थप प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो । पालिकाले केही सकारात्मक कार्यहरु अगाडी बढाएको हुदा यसैमा टेकेर कानुन निर्माण गर्दै थप कामहरु गर्ने योजना पालिकाले बनाएको अधिकृत रिमालको भनाई थियो ।
बैठकमा सुझाव सहितको अन्तव्य राख्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले छाउपडी प्रथा,बालविवाह जस्ता सामाजिक कुरीतिको अन्त्य गर्नका लागि भाषण मात्रै गरेर नहुने भन्दै हरेक नागरिकले ईमान्दारिता देखाउनुपर्ने बताउनुभयो । कतिपय जनप्रतिनिधि कै घरमा छाउगोठ छ भन्ने गुनासो आउने गरेको भन्दै समन्वय प्रमुख कुवँरले यसभन्दा अघिको जस्तो प्रतिबद्धता जनाउने तर कार्यन्वयन नगर्ने हो भने यस्ता कार्यक्रम गरेको अर्थ नरहने बताउनुभयो । बैठकमा सहभागि जिल्लाका १० वटै पालिकाका जनप्रतिनिधिहरुले यस प्रथाका विरुद्ध आ आफ्नो पालिकामा भईरहेका सकारात्मक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
बैठकमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, पंञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल, साफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवँर, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउद, चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउद, साफेबगर नगरपालिका उप प्रमुख शिलोज कुवँर, तुर्माखाँद गाउँपालिका वडा न ५ का अध्यक्ष प्रकाश बहादुर अधिकारी, तुर्माखाँद गाउँपालिका कार्यपालिका सदस्य झंकर नेपाली लगायत सरोरकारवालाको सहभागिता रहेको थियो । गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन प्रसाद रिमालले गर्नुभएको थियो ।





