महेन्द्र खतिवडा
अछाम कार्तिक २ ।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला आज बाट सुरु भएको छ । हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पुजा आराधाना र धामीले खला नाच्ने गर्छन ।
१० दिनसम्म देवताको पुजा, खला नाच्ने र रात्री मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको बिशेषता हो । अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ ।
रात्री मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय महेन्द्र खतिवडाले बताउनु भयो ।
धामीको नाच रात्री मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् ।
परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यहीबेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खडकराज उपाध्यायले बताउनु भयो ।
१० दिनसम्म लाग्ने मेला र मेलालाई दोस्रो दशैँको रुपमा यस क्षेत्रका स्थानीयले लिने गर्दछन् । तर मेलामा कुनै बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । अहिंसात्मक रुपमा मेला मनाईने गरिन्छ भने देउवताका धामी दलित समुदाय र पुजारी गैरदलित समुदायका रहेका छन् । यसबाट केदारनाथ मेला अहिंसा र सद्भावको पर्याय भएको स्थानीय अगुवा देवानन्द खतिवडाको भनाई छ ।
यो बर्ष मेला नित्य पुजा र आराधाना सहित शान्तिपूर्ण रुपमा सम्पन्न अर्ने वडा नम्बर ७ का वडा सदस्य बल ब भण्डारीले बताउनु भयो । मेलामा ९ गते आइतबार राती खला धामी नाच हुने र १० गते माथी मन्दिर जाने र दर्सन्नार्थी को घुईचो लाग्ने गर्दछ । ५० केजि को निसान दमाह नरि ढोली ले बजाउने छ्न । साथै मेलामा देउडा खेलाउडीको प्रस्तुती रहने छ भने मेलामा मदिरा बेचबिखन तथा प्रयोग निषेध गरिएको छ ।




