रामारोशन गाउँपालिका–३ अछाममा कृषक समूहका सदस्यहरूलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तीन दिने तालिम सम्पन्
अछाम, रामारोशन: असार १५ ।
नेपाल लोक कल्याण संघको आयोजनामा मिति २०८३ साल असार १३ देखि १५गते सम्म रामारोशन गाउँपालिका–३ मा कृषक समूहका सदस्यहरूका लागि मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
कृषक समूहकी अध्यक्ष कौसी रावलको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिममा रामारोशन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गणेश बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा रामारोशन गाउँपालिका कृषि विकास शाखाका प्रमुख पवन अधिकारीको समेत उपस्थिति रहेको थियो।
तालिमको प्रशिक्षण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि अधिकृत दिपेश कठायतले प्रदान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल लोक कल्याण संघका कृषि प्राविधिक पदम बहादुर कुँवरले गर्नुभएको थियो।
तालिमको मुख्य उद्देश्य कृषकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी आधुनिक, व्यावसायिक र दिगो तरकारी खेतीतर्फ आकर्षित गर्नु रहेको थियो। तालिममा मौसमी तथा बेमौसमी तरकारी उत्पादन प्रविधि, उन्नत बीउ छनोट, नर्सरी व्यवस्थापन, मलखादको उचित प्रयोग, रोग तथा कीरा व्यवस्थापन, सिँचाइ प्रविधि, उत्पादन वृद्धि तथा बजार व्यवस्थापन सम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक जानकारी प्रदान गरिएको थियो।साथै तालिम मा एकीकृत शत्रु जीव ब्यबस्थापन र जलबायु मैत्री कृषि प्रबिधि बारे समेत सहभागीहरुलाई जानकारी गराईएको थियो |
सहभागी कृषकहरूलाई स्थानीय स्रोत–साधनको प्रभावकारी प्रयोग गर्दै वर्षभरि तरकारी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उपायहरूबारे जानकारी गराइएको थियो। साथै, खेतबारीमै लगेर प्लास्टिक घर निर्माण, बेर्ना उत्पादन तथा व्यवस्थापन, छापो हाल्ने विधि, झोलमल बनाउने तरिका तथा यसको फाइदा–बेफाइदाबारे अभ्याससहित सिकाइएको थियो।
त्यसैगरी, फलफूल खेती गर्ने उपयुक्त समय र विधिबारे समेत कृषकहरूलाई जानकारी प्रदान गरिएको थियो।
प्रशिक्षक दिपेश कठायत र पदम बहादुर कुँवरले सहभागी कृषकहरूलाई सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिँदै आधुनिक तरकारी खेती अपनाउन सके उत्पादन र आम्दानी वृद्धि गर्न सकिने बताउनुभयो। उहाँहरूले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न कृषकहरूलाई आग्रह गर्नुभयो।
तालिममा सहभागी कृषकहरूले नयाँ ज्ञान, प्रविधि र सीप सिक्ने अवसर प्राप्त भएको भन्दै आगामी दिनमा व्यावसायिक तरकारी खेती विस्तार गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
यस कार्यक्रमले स्थानीय कृषकहरूको क्षमता अभिवृद्धि, कृषि उत्पादन वृद्धि, पोषण सुधार तथा आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय