अछाम जिल्लाका विभिन्न पालिकामा १ सय ९० घरधुरीलाई ९ सय ५० वटा बाख्रा तथा बोका सहयोग हस्तान्तरण
अछाम श्रावण १५ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत अछाम जिल्लाका विभिन्न स्थानीय तहका १९० घरधुरीलाई बाख्रा तथा बोका सहयोग गरिएको छ। परियोजनाअन्तर्गत प्रत्येक घरधुरीलाई ४ वटा बाख्रा र १ वटा बोका उपलब्ध गराइएको छ । यसअनुसार १९० घरधुरीलाई ७६० वटा बाख्रा र १९० वटा बोका गरी जम्मा ९५० वटा बाख्रा तथा बोका वितरण गरिएको हो।
परिवारको आयआर्जन वृद्धि, जीविकोपार्जनमा सुधार, आर्थिक आत्मनिर्भरता तथा व्यवसायिक बाख्रापालन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। बाख्रापालनबाट परिवारको आम्दानी बढाउनुका साथै बालबालिकाको समग्र समृद्धि र परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
पालिकागत लाभग्राहीको विवरण
मेल्लेख गाउँपालिका अन्तर्गत ९५ घरधुरी
– वडा नं. ४, कुस्कोट — ३७ घरधुरी
– वडा नं. ६, षोडशा — ३६ घरधुरी
– वडा नं. ७, नन्देगडा — २२ घरधुरी
कमलबजार नगरपालिका तथा पञ्चदेवल विनायक नगरपालिका अन्तर्गत ९५ घरधुरी
– कमलबजार नगरपालिका वडा नं. २, बजुडा — ३० घरधुरी
– कमलबजार नगरपालिका वडा नं. ५, कुईका — २२ घरधुरी
– पञ्चदेवल विनायक नगरपालिका वडा नं. २, विनायक — २० घरधुरी
– पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४, कालिकास्थान — २३ घरधुरी
यसरी मेल्लेख गाउँपालिकाका ९५ र कमलबजार नगरपालिका तथा पञ्चदेवल विनायक नगरपालिकाका ९५ गरी जम्मा १९० घरधुरी यस सहयोगबाट लाभान्वित भएका छन्।
बाख्रा पालन, बीमा तथा पशु स्वास्थ्यसम्बन्धी सेवा र परामर्श
कार्यक्रमका क्रममा लाभग्राहीहरूलाई बाख्रा पालन तथा व्यवस्थापन, उचित आहार, सरसफाइ, खोर व्यवस्थापन, रोगबाट बचाउने उपाय, खोप तथा नियमित पशु स्वास्थ्य परीक्षण लगायतका विषयमा आवश्यक सुझाव तथा सल्लाह प्रदान गरिएको थियो।
पशु सेवा शाखाका प्रतिनिधिहरूले बाख्रामा देखिन सक्ने विभिन्न रोगको पहिचान, रोकथाम तथा उपचारका लागि नियमित रूपमा प्राविधिक सेवा लिन र आवश्यक समयमा पशु स्वास्थ्यकर्मीको परामर्श लिन लाभग्राहीहरूलाई सुझाव दिएका थिए। साथै, बाख्राको उचित पालनपोषण र स्वास्थ्यमा ध्यान दिएमा उत्पादन तथा आम्दानी बढाउन सकिने जानकारी गराइएको थियो।
त्यस्तै, बीमा कम्पनीका पदाधिकारीहरूले पशु बीमाको महत्व, बीमा गर्दा प्राप्त हुने सेवा–सुविधा तथा जोखिम न्यूनीकरणका उपायहरूबारे लाभग्राहीहरूलाई जानकारी तथा परामर्श दिएका थिए। बाख्रा तथा बोका विभिन्न कारणले क्षति भएमा बीमामार्फत हुने क्षतिपूर्ति तथा बीमा प्रक्रियाबारे समेत जानकारी गराइएको थियो। पशुधनलाई सुरक्षित राख्न बाख्राको बीमा गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो।
बाख्रापालनसँगै जीविकोपार्जनमा लगानी गर्न सुझाव
वाक नेपाल तथा परियोजना टोलीले लाभग्राहीहरूलाई प्राप्त बाख्रा तथा बोका सिर्फ तत्काल आम्दानीका लागि मात्र नभई भविष्यको जीविकोपार्जनको आधारका रूपमा विकास गर्न सुझाव दिएका छन्। बाख्राबाट प्राप्त आम्दानीलाई घरायसी खर्चमा मात्र सीमित नराखी पुनः बाख्रा थप्ने, खोर सुधार गर्ने, दाना तथा घाँस व्यवस्थापन गर्ने, पशु स्वास्थ्यमा लगानी गर्ने तथा अन्य आयआर्जनका क्षेत्रमा समेत लगानी गर्न आग्रह गरिएको छ।
परियोजनाबाट उपलब्ध गराइएका बाख्रा तथा बोका राम्रोसँग पालनपोषण गरी संख्या वृद्धि गर्न, पाठापाठी उत्पादनबाट आम्दानी बढाउन र क्रमशः व्यवसायिक बाख्रापालनतर्फ अगाडि बढ्न लाभग्राहीहरूलाई सुझाव दिइएको छ। साथै, प्राप्त सहयोगलाई सही रूपमा सदुपयोग गरी परिवारको दीर्घकालीन आर्थिक अवस्था सुधार गर्न सबै लाभग्राहीलाई आग्रह गरिएको छ।
कार्यक्रममा विभिन्न निकायको सहभागिता
कार्यक्रममा सम्बन्धित सम्पूर्ण वडाका वडा अध्यक्षहरू, पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधि, बीमा कम्पनीका पदाधिकारी, बाख्रा तथा बोका उपलब्ध गराउने भेन्डर, सम्पूर्ण लाभग्राही लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी वाक नेपाल कार्यसमिति सचिब सुरत बहादुर खड्का र कार्यसमिति सदस्य बल बहादुर के.सी. लगायत वाक नेपाल IPF परियोजनाका पि.सि. कम्मान मल्ल, फाइनान्स अफिसर हिमाल बुढा, किर्ति कुमार खड्का, मार्केट कोअर्डिनेटर विष्णु बुढ्थापा, फिल्ड परिचालक दिनेश बि.क., खकेन्द्र बडुवाल, रमेश भुल र दिपिका वड लगायत परियोजना टोलीको समेत सहभागिता रहेको थियो।
लाभग्राहीहरूले प्राप्त गरेको बाख्रा तथा बोका व्यवस्थित रूपमा पालन गरी बाख्रापालनलाई आयआर्जन र दिगो जीविकोपार्जनको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। परियोजनाबाट प्राप्त बाख्रा तथा बोका, पशु सेवा शाखाबाट प्राप्त प्राविधिक सहयोग, बीमा कम्पनीबाट प्राप्त जोखिम सुरक्षणसम्बन्धी सेवा तथा परियोजना टोलीबाट प्राप्त निरन्तर सुझाव र परामर्शले ग्रामीण परिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।






