रमिता बि.क

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले संस्थाको आयोजनामा काठमाडौंको पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष मनिष बिकको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका गरी १५० वटा बिरुवा रोपिएको हो।

‘नयाँ सोच, नयाँ प्रयास : प्रकृतिको हरियो उपहार ! वृक्षारोपण गरी, वातावरण जोगाऔं, भविष्य सुरक्षित बनाऔं !’ भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रबाट सहभागी भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। बढ्दो सहरीकरण, वातावरणीय प्रदूषण तथा हरियाली क्षेत्रको कमीका कारण वातावरणमा परेको असरलाई न्यूनीकरण गर्न वृक्षारोपण महत्वपूर्ण रहेको उनीहरूको भनाइ थियो।

संस्थापक अध्यक्ष मनिष बिकले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्यक्रम मात्र नभई प्रकृति संरक्षण र भावी पुस्ताका लागि स्वच्छ तथा सुरक्षित वातावरण निर्माण गर्ने अभियान भएको बताए। उनले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र वरपरका उपयुक्त स्थानमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। सहभागीहरूले बिरुवा रोप्नुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने र आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम २०८२ साल श्रावण २७ गते बुधबार पशुपति क्षेत्रमा आयोजना गरिएको हो। न्यू होप संस्थाले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि वृक्षारोपणलगायत सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

वृक्षारोपण कार्यक्रमले पशुपति क्षेत्रको हरियाली बढाउन सहयोग पुग्नुका साथै वातावरण संरक्षणप्रति स्थानीय समुदाय र सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय