एजेन्सी । थाइल्याण्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ। राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले बुधबार जेल सजाय सुनाएको हो।
थाइल्याण्डको फौजदारी अदालतले श्रीनोकले कम्युटर अपराध ऐन उल्लंघन गरेको ठहर गरेको छ। सिएनएनका अनुसार सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाएको हो।
यद्यपि श्रीनोकले आफूलाई जमानतमा छोड्न गरेको अपिललाई अदालतले स्वीकार गरेको छ। उनले फेसबुकमा लेख्दै आफू काममा फर्किएको बताएकी छन्।
थाइल्याण्डमा राजा, रानी र उनीहरूका उत्तराधिकारीको विरोध गर्दा १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। मानवअधिकारवादी थाइ वकिलहरूको संस्थाका अनुसार श्रीनोकले २०२० मा कोभिडको खोपको खरिदबारे विरोध जनाउँदै एक्स९ट्वीटर०मा स्टाटस लेखेकी थिइन्। खोप खरिद गर्ने कम्पनी राजसँग सम्बन्धित थियो। उनले राजतन्त्रको विरोधमा गरिएको ट्वीटलाई पनि रिट्वीट गरेकी थिइन्।
श्रीनोक २०२३ मा मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यसअघि उनी सामाजिक अभियन्ता र सरकारको आलोचक थिइन्।




