टेक बहादुर थापा ,अछाम चैत्र १९ ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ । विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुखजिल्ला अधिकारी सरद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले विपदका कारणले कुनैपनी नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्नका लागि विपद आउन नदिने गतिविधि संचालन गर्ने र यदि प्राकृतिक रुपले आउने विपद बाट जनधनको क्षति हुन नदिने गरि विपदको पुर्व तयारी गर्न स्थानीय तह, सुरक्षा निकाय सरोकारवाला निकायहरु तत्परताका साथ लागीपर्ने, जिल्लामा विपदको समयमा तत्काल उद्धार तथा राहातका लागि आवश्यकपर्ने सामाग्रीहरुको व्यवस्था मिलाउने तथा विपद बाट प्रभावित परिवार भोकै खुला आकाश मुनि बस्न नपर्ने गरि आवश्यक राहात सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न बैठकले जिल्लामा विपदको समयमा आवश्यक राहात सामाग्रीको अभाव हुन नदिन राष्ट्रिय विपद जोखिम न्युनिकरण तगा व्पवस्थापन प्राधिकरण, प्रदेश सरकार तथा अस्थानीय तह र विपदको क्षेत्रमा कामगर्ने संघ संस्थाहरु संग आवश्यक समन्वय र सहकार्य गर्ने लगायतका निर्णय गरेको अछामका प्रमुखजिल्ला अधिकारी सरद कुमार पोखरेलले बताउनुभयो । बैठकपछि रेडियो गाउँघर संग कुराकानी गर्दै विपद व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका प्रमुखजिल्ला अधिकारी पोखरेलले जिल्लाका केही पालिकाहरुमा विपद आउन सक्ने कुरालाई मध्यनजर गर्दै उक्त क्षेत्रका जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई आवश्यक तयारी गर्न र सचेतनाका कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरिएको जानकारी दिनुभएको छ । कतिपय प्रकोपहरु मानविय त्रुटीका कारणले हुने र कतिपय प्राकृतिक प्रकोप हुने भएकाले यसलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति यस तर्फ सचेत रहेको बताउनुभयो । यसभन्दा पछिको समय सबैभन्दा बढि विपदजन्य घट्नाहरु घट्ने समय भएकाले हरेक नागरिकले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको । यो बेला सुख्खा मौसम समेत हुने भएकाले यो बेला आगलागीका घट्नाहरु सबैभन्दा बढि हुने भएकाले आगो बाल्दा धेरै कुराका ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । बैशाख जेठ तिर चट्याङ, हावाहुरी बढी आउने भएकाले हरेक नागरिकले यो बेला आफु र आफ्नो घर परिवारका सदस्यहरुको उचित किसिमले रेख देख गर्न आग्रह गर्नुभयो । हामी विपदलाई रोक्न सक्दैनौ यसबाट हुने क्षति न्युनिकरण मात्रै गर्ने भएकाले यसका लागि अछाम जिल्लाका १० वटै पालिकाहरुले आ आफ्नो तयारी गरिरहेको हुदा आफ्नो गाउँ ठाउमा विपद जन्य घट्नाहरु घटेको खण्डमा नजिकको स्थानीय सरकारलाई खबर गर्न समेत आग्रह गर्नुभएको छ । आईतबार नै अन्य दुईवट महत्वपुर्ण बैठक समेत सम्पन्न भएको प्रमुखजिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ । बैठकमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, पंचदेवल विनायक नगरपालिका उप प्रमुख हर्क बहादुर रावल, ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही, मेल्ले गाउँपालिका वडा अध्यक्ष कुशलराज बुढा, अछामका प्रहरी प्रमुख सन्तोस पाठक, शस्त्र प्रहरी नायब उपरिक्षक धन सिं धामी, गोरख बक्स गणका सेनानी प्रमोद कार्की लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।




