रमिता बि,क

चैत्र १: कमलबजार नगरपालिकामा पालिका स्तरीय स्थानीय बाल अधिकार समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। वल्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको सहयोग तथा सहजीकरणमा कमलबजार नगरपालिकाको समन्वय तथा बाल अधिकार समितिको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
नगर उप–प्रमुख तथा बाल अधिकार समिति संयोजक शारदा बिष्ट  कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, पत्रकार, बाल सञ्जालका प्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बाल अधिकार समितिको काम, कर्तव्य तथा अधिकार, बालबालिकाका मुख्य समस्या तथा सवालहरूको पहिचान, बालबालिकाको अवस्था विश्लेषण, बाल संरक्षण सम्बन्धी सिफारिस संयन्त्रबारे जानकारी, बाल संरक्षणका प्रमुख मुद्दाहरू, जोखिममा रहेका बालबालिकाको पहिचान तथा व्यवस्थापनमा सरोकारवाला निकाय र स्थानीय तहको भूमिका लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
साथै मनोसामाजिक समस्याका बारेमा पनि छलफल गर्दै पालिका स्तरमा मनोसामाजिक परामर्शसम्बन्धी तालिम प्राप्त व्यक्तिहरूलाई सम्बन्धित वडाले पहिचान गरी पालिकामा सूचीकृत गर्ने विषयमा समेत छलफल गरिएको छ।
त्यसैगरी हरेक कार्यक्रम तथा गतिविधिमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) को अवधारणालाई प्रभावकारी रूपमा समेट्नुपर्ने महत्त्वबारे पनि सहजीकरण गरिएको थियो।
बैठकले पालिका स्तरमा जोखिममा रहेका बालबालिकालाई सहयोग गर्न थप बजेट आवश्यक रहेको निष्कर्ष निकाल्दै आगामी बैठकमार्फत आवश्यक बजेट व्यवस्थापन गरी जोखिममा रहेका बालबालिकालाई सहयोग गर्ने निर्णय समेत गरेको छ।
कार्यक्रमको सहजीकरण आस्था नेपालका कर्मचारी गोकुल खड्का, दिल बहादुर शाही तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पालिका कर्मचारी कल्पना देवकोटाले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय