मंगलसेन नगरपालिका वडा न १, ६ र ७ मा रहेका विभिन्न सामुदायिक वनहरूले नौघाटे खोलामा अवैध तरिकाले माछामार्ने कृयाकलाप बन्द गर्ने निर्णय गरेका छन । वडा न १ मा रहेका खेतगैरा सामुदायिक वन, मालिका सामुदायिक वन, कुलदेव सामुदायिक वन र वडा न ६ मा रहेको भण्डारी सामुदायिक वन तथा वडा न ७ मा रहेको लामाडाडा कालापातल सामुदायिक वनका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । मंगलसेन नगरपालिकाको वडा न ७ वडा न ६ र ७ को सिमाना हुँदै बग्ने नौघाटे खोलामा अहिले अवैध तरिका बाटो माछा मार्ने र त्यहीँ कारणले गर्दा खोलामा माछाहरू पाईन छोडेपछि ३ वटै सामुदायिक वनहरूले जाला बाहेक अन्य तरिका बाट माछा मार्ने कार्यमा रोक लगाएको खेतगैरा सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर थापाले बताउनुभएको छ । वडा न १ को घट्टे खोला भन्दा माथि र वडा न ७ को जनाली गाड सम्म कसैले पनि विषादी, प्रयोग गर्न नपाईने, दबालो बुझ्न नपाईने, करेन्ट लगाउन नपाईने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो । विषादी र करेन्ट लगाउदा माछाहरू सबै मर्ने र यही कारणले गर्दा खोलामा पाईने माछाहरू लोप हुन थालेको वडा न ६ का वडा सदस्य दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । अहिले माछा मार्न अनेक उपायहरू अपनायर माछा मार्ने र त्यही कारणले माछाहरू लोप हुँदै गएपछि यो निर्णयलाई प्रभावकारी ढंगले कार्यनयन गरेर लैजाने सबैले प्रतिबद्धता समेत जनाएका छन । तीनवटै वडामा सामुदायिक वनले गरेको निर्णय अवज्ञा गर्नेलाई पहिलो पटक दुईहजार पाचसय जरिवाना गरिने र दोस्रोपटक पनि गल्ती दोहोरियो भने ५ हजार जरिवाना गरिने भएको छ । यसका लागि सामुदायिक वनका पदाधिकारीलाई अनुगमन गर्ने जिम्मेवारी समेत दिईने निर्णय गरिएको समाजसेवी मिनराज नाथले जानकारी दिनुभएको छ ।




