हिक्मत बहादुर नेपाली
अछाम, जेठ १६ ।
अछामको ढकारीमा साहित्य उत्सव तथा कृषि मेला आयोजना गरिएको छ । कृषि र पर्यटन प्रवर्द्धनका साथै कला संस्कृति र साहित्य प्रवर्द्धनका लागि ढकारी गाँउपालिकाले मेला आयोजना गरेको हो ।
कला, संस्कृति, परम्परा, रितिरिवाज र साहित्यको मात्र होइन् रैथाने अन्न बालीको समेत उर्वर भूमिका रुपमा परिचित ढकारीले कृषि र पर्यटनको प्रचारप्रसारका लागि साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनीको आयोजना गरेर देशभरका साहित्यकारहरुलाई समृद्धिका रचना वाचन गराएको छ ।
सधैं मायाप्रेम, देशप्रेम, राजनीति र समाजका विविध पक्षमा रचना गर्ने कवि, गजलकार र अन्य विधाका साहित्यकारहरुले दुर्गममा पुगेर कृषि र पर्यटनबारे रचना सुनाएका थिए ।
साहित्यकार डाक्टर नवराज लम्सालले रचना बाचनकै क्रममा यो उत्सवले कृषि, पर्यटनसँगै साहित्यका क्षेत्रमा ढकारीको परिचयलाई थप फराकिलो बनाउँदै मुलुककै सबैभन्दा ठूलो साहित्य कुम्भको रुपमा परिचित गराएको बताउनु भयो । उहाले देशका विभिन्न ठाँउका साहित्य अनुरागीहरुलाई एकै ठाउँमा भेला हुने अवसर दिएर यहाँको ‘भर्जिन’ पर्यटन, रैथाने कृषि र अन्य समृद्धिका विषयमा साहित्य मार्फत नयाँ ढंगले प्रचारको थालनी गरेको भन्दै यसले ढकारी जस्ता कैयौं दुर्गम क्षेत्रको सम्भावनाबारे राज्यको ध्यानकर्षण गराउने विश्वास व्यक्त गर्नु भयो ।
काफल बेच्ने केटी शीर्षकको कविताका हरफ सुनाउँदै नेपाली लेखक संघका महासचिव कवि सोझो गाउँलेले दुर्गमको उत्पादन र त्यसको महत्व बारे चर्चा गर्नु भएको थियोे । उहाको कविताका भावले बोले अनुसार दुर्गम अभाव र पीडाले जेलिएको मात्र होइन उत्पादनको पनि खानी हो ।
उत्सवमा मदन पुरस्कार विजेता विवेक ओझासहित साहित्यकारहरु तपेन्द्र घोडासैनी, खेम बतास, महेन्द्र अतल, महेश दोस्टाज, गीता स्मृति कठायत, कुस्मा भट्ट, कमलराज केसी, मिनबहादुर थापा, मनोज विवस, जिवन सरोबर, भरत अधिकारी जलन, झनक अधिकारी बारुद र भुपेन अथक लगायत काठमाडौं देखि बझाङसम्मका साहित्यकारले कृषि र पर्यटनको प्रोत्साहनका लागि रचना वाचन गरेका थिए ।
साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनी मुल आयोजक समितिका सदस्य नवीन चिरागका अनुसार गाउँपालिकाले कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो उत्सव आयोजना गरिएको हो । जहाँ सबैले सहजै बुझ्न सकुन भनेर कविता, गजल र साहित्यका अन्य विधा मार्फत यसको प्रचार गर्नुका साथै स्थानीय भेषभुषा, कला सँस्कृति र भाषा संरक्षणका लागि देउडा, रत्यौली, हुड्केउली, भुँव, पञ्चेवाजा पनि प्रदर्शन गरिएको छ ।
स्थानीय उत्पादन प्रदर्शनका लागि कार्यक्रम स्थल पुगेका किसानहरु कविता र गजल मार्फत कृषिका कुरा सुनेर दंग देखिएपछि मुल आयोजक समिति संयोजक तथा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदले उत्सवको अन्त्यमा खुसी व्यक्त गर्दै यसले किसानमा उत्साह बढाएको बताउनु भयो ।
उहाले रैथाने अन्नबाली संरक्षणका लागि भाषण गरेर केहि नहुने भन्दै अब किसानले बुझ्ने गरी यस्तै सिर्जनसिलता मार्फत उनीहरुमा जोस, जाँगर र उत्साह ल्याएर स्थानीय सरकारले कृषिलाई समृद्धिको मुल ढोकाको रुपमा प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो ।
उत्सवमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने लगायतका जिल्लाका जनप्रतिनिधिले पनि यो उत्सवले राजनीतिज्ञहरुलाई समेत उत्तरदायी बनाएको बताउनु भयो । उत्सवमा बसाइँसराइले गाउँहरु रित्तनुको कारण, त्यसको असर र बसाइँसाराई रोक्न गर्नुपर्ने उपायबारे स्थानीय जनप्रतिनिधिहरुसँग बहस पनि गरिएको थियो ।




