हिक्मत बहादुर नेपाली
अछाम श्रावण २१ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकाले भैंसीपालन गर्ने विपन्न किसान र बाँझो जमिन नराखी खेती गर्ने ६ जना कृषक लाई एक लाख अनुदान प्रदान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को बजेटबाट कृषि तथा पशुपालन प्रोत्साहन कार्यक्रममा बजेट विनियोजित गरी अनुदान हस्तान्तरण गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले बताउनु भयो । वडा स्थित कम्तीमा दुई भैंसी पालेका धर्म राज तिमिल्सैना, भक्तराज जैसी, दिपा तिमिल्सैना, चन्द्रा देवी बोहरा गरी ४ जना विपन्न कृषकलाई रु २० हजारका दरले र बाँझो जमिनमा खेतीपाती तथा तरकारी लगाउने प्रेम टमट्टा, मोहन सिंह साँउदलाई रु १० हजारका दरले प्रोत्साहन रकम हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को बजेटबाट गाउँमा सबैले भैंसी पाल्ने र जमिन बाँझो नराख्ने उद्देश्यका साथ चार जनालाई भैंसी पालन र दुई जना किसानलाई कृषि अनुदानमा सहयोग हस्तान्तरण गरिएको र यस कार्यक्रम लाई आगामी दिनमा पनी निरन्तरता दिने वडा अध्यक्ष तिमिल्सैनाको भनाइ छ । साथै स्थानीय रैथाने वाली कोदो ,भटमास ,मास ,गहत लगाउने किसानलाई अझै उत्कृष्ट प्रोत्साहन गरिने वडा अध्यक्ष तिमिल्सैनाको योजना रहेको छ ।





