जेसीज सप्ताहको अवसरमा अछाम जेसीज बर्ष २०२४ ले मंगलसेन बजारमा सरसफाई गरेको छ । युवाहरुको नेतृत्व, व्यक्तित्व र सामाजिक विकासका क्षेत्रमा कामगर्दै आईरहेको जेसीजले सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु समेत गर्दै आएको छ । अछाम जिल्लामा सामाजिक क्षेत्रमा कामगर्दै आईरहेको यस संस्थाले यस भन्दा अघिपनि बजार तथा सार्वजनिक स्थलको सरसफाइ, श्रमदान, राहात वितरण जस्ता कार्यहरु गरेको छ । जेसीज सप्ताहको अवसरमा शनिबार मंगलसेनको खुला मंचमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको जेसीज अछामका अध्यक्ष फलेन्द्र प्रसाद उपाध्यायले बताउनुभयो । खुला मंच जिल्लाकै आकर्षकको केन्द्र भएको र त्यसै स्थानमा ऐतिहासिक दरबार समेत भएकाले यस क्षेत्रमा सरसफाइ गरिएको अध्यक्ष उपाध्यायले बताउनुभयो । दरबार क्षेत्रको परिसरमा जथाभावि रुपमा फालिएका कागज, गुट्खा, चाउचाउ, बिस्कुट, चिजबल लगायतका खोस्टाहरु संकलन गरि जलाइएको छ भने अन्य फोहोर संकलन गरि उचित ठाउमा बिसर्जन गरिएको महासचिव झनकराज अधिकारीको भनाई छ । दरबार क्षेत्र हाम्रो गौरवको क्षेत्र भएकाले यो वरिपरि सरसफाई गर्नु हरेक नागरिकको दायित्व भएको भन्दै उहाले यो कार्यलाइ आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ । सरसफाइ अभियान सुरु गर्नुभन्दा अघि मंगलसेन नगरपालिका वडा न ३ मा समाजसेवी अमर बोगटी (मायालुको) श्रद्धाञ्जलीसभा कार्यक्रममा पनि जेसीजले सहभागिता जनाएको थियो । मृतक बोगटीको परिवारलाइ समवेदना दिदै सोकाकुुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरको जेसीज अछामका कार्यकारी उपाध्यक्ष जितमान बोहराले जानकारी दिनुभएको छ । सरसफाइ कार्यक्रममा वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, अछाम जेसीज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसी, बर्ष २०२३ अध्यक्ष तथा रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, कानुनी सल्लाहाकार शिवराज ढुंगाना, युवा संजाल अछामका पुर्व अध्यक्ष होम बहादुर साउद, जेसीज अछामका उपाध्यक्ष कमल रावल, आनन्द साउद लगायत स्थानीय व्यापारी, समाजसेवी, बुद्धीजिबिहरुको सहभागिता रहेको थियो ।






