
हिक्मत बहादुर नेपाली
अछाम चैत्र १७ । पत्रकार महासंघ अछामले अस्ति शुक्रबार काठमाडौंमा राजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको जलाएर मृत्यु भएको घटनामा दोषीलाई कडा सजायको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय अछाममा पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतले प्रमुख जिल्ला अधिकारी आनन्द सारु समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो । साथै आज अछाम सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी आनन्द सारु संग अछाम स्थित पत्रकार संग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जिल्लाको शान्ति सुरक्षाका लागि सबैसंग सहकार्य गरेर काम गर्ने बताउनु भएको छ । आज आईतबार जिल्ला प्रशासन कार्यालय अछाममा भएको पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सारुले यस्तो बताउनु भएको हो ।
भर्खरै मात्र अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर अछाम पुगेका सारुले जिल्लामा शान्ति सुरक्षा र विकास निमाणका कामहरुलाई समयै सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई ताकेता गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
सह–सचिव सारुले आफ्नो कार्यकालमा अछामी जनताले महसुस गर्ने गरि काम गर्ने बताउँदै आफुले सम्पादन गर्ने काममा सबैको सकारात्मक सुझावको अपेक्षा गरेको समेत बताउनु भयो । जिल्लामा बजार अनुगमनका साथै अनधिकृत रुपमा जिल्लामा भइरहेको लागु औषध विक्रिवितरण लाइ नियन्त्रण गर्न आफुले काम गर्ने सारुको भनाई छ ।
पछिल्लो समय अछाम जिल्लामा युवाहरु कुलतमा लागेको तर्फ पत्रकारहरुले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी सारुले यो गैर कानुनी कामलाइ नियन्त्रण गर्न काम सुरु गर्ने र यसका लागी सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा समेत उहाँले गर्नुभयो ।
अछाम जिल्लामा प्रक्रिया भन्दा बाहिर रहेर अधिकांस सवारी साधनहरु सञ्चालनमा रहेको भन्दै यसको नियमनका लागि पहल गर्ने सारुको भनाई छ । जिल्लामा सञ्चालित गौरवका आयोजनाहरुको काममा निगरानी गर्ने बताउँदै उहाँले सबै तहको सरकारसंग सहकार्य गर्ने बताउनु भयो ।