अछाम बैशाख ०३ । मेल्लेख गाउँपालिका वडा नं ६ षोडशास्थित नन्देश्वरी माविको स्तरोन्नतिका लागि सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । मन्त्री पालले महायज्ञले विद्यालयको स्तरोन्नतिका लागि महत्वपूर्ण टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले आफ्नो व्यक्तिगत तर्फबाट महायज्ञमा ५० हजार ५ सय रुपैँया दान समेत गर्नु भयो। मन्त्री पालले विद्यालयको भौतिक विकासमा आफ्नो मन्त्रालयले आवश्य बजेट बिनियोजन गर्नेसमेत प्रतिवद्धतासमेत जनाउनु भयो। मन्त्री पालले विद्यालयको घेरावारकोसमेत शिलान्यास पनि गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले महायज्ञमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो। महायज्ञमा संकलित रकमको सही सदुपयोगमा ध्यान दिनुपर्ने उहाँले जोड दिनुभयो।
कार्यक्रममा विशिष्ठ अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञबारे कसैले गलत हल्लासमेत फैलाएको बताउनुभयो । संकलित रकम हिनामिना हुन नदिन सचेत बन्नुपर्नेमा उहाँको पनि जोड थियो। कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष प्रकाश अधिकारीले हिजो बसेको कार्यपालिका बैठकले महायज्ञलाई ५ लाख रुपैया दिने निर्णय गरेको जानकारी दिनुभयो। वडा नं ६ का वडा अध्यक्ष तिलक बहादुर कडायतले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता विरबहादुर बोहोराले गर्नुभएको थियो । बैशाख ९ गतेसम्म चल्ने महायज्ञमा भागवत भुुषण पण्डित नारायणप्रसाद तिमिल्सिनाको टोलीले कथा बाचन गर्ने आयोजकले जनाएको छ ।
ADVERTISEMENT