
रमिता बि क
अछाम असार १९ । कमलबजार नगरपालिका वडा नम्बर ५ कुइका स्थित महाकाली माध्यमिक विद्यालयमा बालविवाह अन्त्यसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ५ कुईकाको आयोजनामा बुधबार बालविवाह अन्त्यसम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको स्रोतले जनाएको हो। अन्तरक्रिया कार्यक्रममा बालविवाहको कारण असर र त्यसको समाधानका उपायहरूबारे गहिरो छलफल गरिएको थियो।
सोही अन्तरक्रिया कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका वडाध्यक्ष सत्यराज तिमिल्सैनाले बालविवाह नेपाली समाजको गम्भीर समस्या भएको उल्लेख गर्दै यसलाई अन्त्य गर्न सबै क्षेत्रको समन्वय र जागरुकता आवश्यक रहेको बताउँदै आफ्नो वडामा यस्ता चेतनामूलक कार्यक्रम बेलाबेला गर्दै आइरहेको बताउनुभएको छ।
विद्यालयका प्रधानाध्यापक मोहन सिंह खत्रीले विद्यालयलाई बालविवाहमुक्त क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्। यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सबैले बालविवाह अन्त्यका लागि व्यक्तिगत पारिवारिक र सामुदायिक तहमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका थिए।
विद्यालयमा अध्ययनरत एक छात्रा ले भनिन् हामीले बालविवाहले कस्तो असर पार्छ भन्ने कुरा बुझ्न पायौँ अब हामी आफै पनि यस्तो विवाह हुन नदिन अभिभावकलाई सम्झाउने छौं अर्का एक छात्रले भने बालविवाहले पढाइ स्वास्थ्य र भविष्यमा नराम्रो असर पार्दो रहेछ। यस्तो विवाह रोक्न किशोर किशोरी आफै सचेत हुन जरुरी छ भन्ने मैले बुझेँ। विद्यालयमा अध्ययनरत अधिकांश छात्र छात्राले यस अन्तरक्रिया कार्यक्रमले बालविवाहको बारेमा प्रष्टै बुझेको बताएका थिए ।