हिक्मत बहादुर नेपाली
अछाम कार्तिक १७ ।
अछामको कमलबजार नगरपालिकामा स्थापना भएको राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनको सेवा अवरुद्ध भएको छ । स्टेसनमा सञ्चालित डिभाईसमा खराबी आएकाले सेवा अवरुद्ध भएको हो । कमलबजार नगरपालिका नगरकार्यपालिकाले आज जारी गरेको सूचना अनुसार राष्ट्रिय परिचय पत्र विवरण दर्ता/ वितरण अस्थायी स्टेशन स्थापना भई राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य नियमित रुपमा संचालन भई रहेकोमा मिति २०८२।०६।२७ गते देखि यस अस्थायी स्टेशनको डिभाइसमा प्राविधिक समस्या आई मिति २०८२।०६।२८ गते देखि राष्ट्रिय परिचय पत्र विवरण दर्ता सम्बन्धि सेवा अवरुद्ध भएको छ ।
स्टेशनमा बिग्रेको डिभाइस राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सिंहदरवार काठमाण्डौ पठाई नयाँ डिभाइस प्राप्तिको प्रकृयामा रहेको र कार्यालयको अर्को सुचना जारी नहुन्जेल सम्मका लागि राष्ट्रिय परिचय पत्र विवरण दर्ता सम्बन्धि कार्यको सेवा अवरुद्ध भएको व्यहोरा जानकारी सहित सूचना प्रकाशित गरिएको छ । उल्लेखित अवस्थाबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाको कार्यालय क्षमाप्रार्थी रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले हस्ताक्षरित उक्त सूचनामा उल्लेख गरिएको छ ।
स्टेशन बाट हाल सम्म २४ सय ५५ जनाले सेवा लिए
जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय बाहेक पालिका स्तर बाट सञ्चालित नेपालकै पहिलो राष्ट्रिय परिचयपत्रको दर्ता तथा वितरण कमलबजार स्टेशनका गत असार २८ गते सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि प्रसाद लम्सालले उद्धाटन गर्नु भएको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र कमलबजार नगरपालिकाको सहकार्यमा सञ्चालित राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा वितरण स्टेशन स्थापना भए देखि हाल सम्म २४ सय ५५ जनाले सेवा लिएका स्टेशनका दर्ता अपरेटर लक्ष्मण बिष्टले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय