रमिता बि.क
कमलबजार: राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालासँग अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ।
कमलबजार नगरपालिकामा मिति २०८२ माघ २४ गते शनिबार उक्त अभिमुखीकरण गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम सञ्चालन, खोपको आवश्यकता तथा प्रभावकारिताका विषयमा जानकारी गराइएको थियो।
पालिका स्तरीय खोप समन्वय समिति सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको सहभागितामा सम्पन्न गोष्ठीमा खोप कार्यक्रमलाई सफल बनाउन स्थानीय तहको भूमिका र समन्वयको महत्वबारे छलफल गरिएको थियो।
कार्यक्रम कमलबजार नगरपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको हो। अभिमुखीकरण गोष्ठीले पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा एच.पि.भी. खोप कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस्तै शिशुबोधनी माध्यमिक विद्यालय, शक्ति आधारभूत विद्यालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय, काल्यानी माध्यमिक विद्यालय, कृष्ण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय, मनकामना माध्यमिक विद्यालय, कवालेख आधारभूत विद्यालय, पदमसना आधारभूत विद्यालय, जाल्पा देवी माध्यमिक विद्यालय, कालिका देवी आधारभूत विद्यालय, चक्रेश्वरी माध्यमिक विद्यालय, बागेश्वरी आधारभूत विद्यालय तथा विद्यावोधिनी माध्यमिक विद्यालयमा मिति २०८२ माघ २७, २८ र २९ गते खोप सञ्चालन गरिने भएको छ।

कमलबजार नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका अतिथि नगर उपप्रमुख शारदा बिष्ट कुवँर रहनुभएको थियो। एक देखि १० वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही कर्मचारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। कमलबजार स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टले सहजीकरण गर्नुभएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखामा कार्यरत पार्वती बिसीले गर्नुभएको थियो।




