रमिता बि.क
अछाम, कमलबजार कमलबजार नगरपालिका स्तरिय बाल सञ्जालको २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ। हिजोदेखि सञ्चालनमा आएको उक्त तालिम नगर बाल सञ्जालका अध्यक्ष डिग्रा बजगाईँको अध्यक्षतामा सुरु भएको थियो भने नगर उपप्रमुख शारदा कुवँर बिष्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
World Vision International को सहयोग, कमलबजार नगरपालिकाको समन्वय तथा Aastha Nepal को सहजीकरणमा सञ्चालन गरिएको उक्त तालिममा वर्ल्ड भिजनका Sponsorship Officer पुरन मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रतिनिधि कल्पना देवकोटा, पत्रकार रमिता बि.क., साथै आस्था नेपालका कर्मचारी दिलबहादुर शाही र सागर देवकोटा सहभागी रहेका थिए।
बाल सञ्जालमा आबद्ध बालबालिकाको सक्रिय सहभागितामा सञ्चालन गरिएको तालिममा बाल अधिकार, बाल संरक्षण, बालबालिकामा लगानीको आवश्यकता, प्रजनन स्वास्थ्य, पोषण, बालबालिकाका सवाल तथा समस्या पहिचान, अनलाइन सुरक्षा तथा साइबर अपराध, तथा जीवन उपयोगी सीप सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
यसका साथै बालबालिकालाई हिंसा तथा दुर्व्यवहारबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा सचेतना अभिवृद्धि गर्नुका साथै बाल सञ्जालका काम, कर्तव्य र अधिकारबारे जानकारी गराइएको थियो। मनोसामाजिक समस्या तथा यसबाट बच्ने उपायबारे समेत सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो।
तालिमको सहजीकरण आस्था नेपालका कर्मचारी दिलबहादुर शाही र सागर देवकोटाले गर्नुभएको थियो।
यसै अवसरमा भावना भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नगर बाल सञ्जाल समिति पुनर्गठन गरिएको छ। समितिको उपाध्यक्षमा बिरेन्द्र बिष्ट, सचिवमा प्रतीक्षा बिष्ट लगायत अन्य सदस्यहरू चयन भएका छन्।
यस तालिमले बालबालिकामा आफ्ना अधिकारप्रति जागरूकता अभिवृद्धि हुनुका साथै बाल संरक्षण, अनलाइन सुरक्षा र स्वास्थ्यसम्बन्धी विषयमा व्यवहारिक ज्ञान बढाउने अपेक्षा गरिएको छ। सहभागी बालबालिकाले सिकेका सीप र ज्ञानलाई समुदायमा प्रयोग गर्दै अन्य बालबालिकामा समेत सचेतना फैलाउने, बालमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने तथा बाल हिंसा, दुर्व्यवहार र साइबर अपराधजस्ता जोखिम न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
त्यसैगरी, पुनर्गठित बाल सञ्जाल समितिले थप सक्रिय रूपमा बालबालिकाका सवाल उठाउने, समस्या पहिचान गरी सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने क्षमता विकास हुने अपेक्षा गरिएको छ।




