रमिता बि.क
कमलबजार नगरपालिकामा पालिका स्तरीय स्थानीय बाल अधिकार समिति बैठक तथा बाल संरक्षण रणनीति कार्ययोजना समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
World Vision International Nepal र आस्था नेपालको सहयोग तथा सहजीकरण तथा कमलबजार नगरपालिकाको समन्वयमा स्थानीय बाल अधिकार समितिको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको आस्था नेपालका कर्मचारी दिल बहादुर शाहीले जानकारी दिनुभयो ।
नगर उपप्रमुख एवं बाल अधिकार समिति संयोजक शारदा बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यज्ञप्रसाद ढकाल रहनुभएको थियो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष नन्द सिंह कुवर, वडा नं. ४ का अध्यक्ष मीन बहादुर साउद, वडा नं. ९ का अध्यक्ष कमल प्रसाद बजगाईं, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपा भण्डारी, वडा नं. ८ का कार्यवाहक अध्यक्ष मीन बहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट तथा आस्था नेपालका कार्यसमिति कोषाध्यक्ष लक्ष्मण बिष्ट लगायतको सहभागिता रहेको थियो।यसका साथै पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, न्यायिक समिति लगायत विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरू, आस्था नेपालका कर्मचारी दिल बहादुर शाही र नगर बाल सञ्जाल अध्यक्ष भावना भण्डारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा कमलबजार नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गर्ने, बालबालिकाका समस्याहरू पहिचान तथा योजना निर्माणमा सहयोग पुर्याउन सबै वडा तथा नगरस्तरमा आस्था नेपालसँग समन्वय र साझेदारीमा बाल भेला सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, बाल संरक्षण रणनीति कार्ययोजना अन्तर्गत गत वर्ष सञ्चालन गरिएका क्रियाकलापहरूको समीक्षा गर्दै आगामी वर्ष बालमैत्री स्थानीय शासनलाई पहिलो प्राथमिकतामा राखी थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने योजना निर्माण गरिएको छ।
कार्यक्रमको सहजीकरण आस्था नेपालका कर्मचारी दिल बहादुर शाहीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रतिनिधि कल्पना देवकोटाले गर्नुभएको थियो।




