अछाम जेठ ८ । मंगलसेन नगरपालिकाले संघीय सरकारको परिपत्रअनुसार जेठ महिनालाई भौतिक पूर्वाधार योजनाहरूको गुणस्तर अभिवृद्धि महिना रूपमा मनाउँदै पालिकाभित्र सञ्चालन भइरहेका तथा सम्पन्न भइसकेका योजनाहरूको अनुगमन कार्यलाई तिव्र रूपमा अगाडि बढाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङ्गानाको नेतृत्वमा योजना शाखा प्रमुख विष्णु प्रसाद जैसी, पूर्वाधार शाखा प्रमुख इन्जिनियर झनक अधिकारी, सब–इन्जिनियर भरत बोहरा, नारायण जोशी तथा अनिल सोडारीको संयुक्त टोलीले वडा नं. ३, ४, ५, ६, ७, ८, १० र १४ मा सञ्चालन भइरहेका भौतिक पूर्वाधार योजनाहरूको स्थलगत अनुगमन गरेको हो।
अनुगमनका क्रममा सडक,भवन,खानेपानि,सिचाई लगायतका योजनाहरूको गुणस्तर, प्रगति तथा परिणामको मूल्यांकन गर्नुका साथै आवश्यक सुझाव तथा परामर्शसमेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो।
पूर्वाधार शाखा प्रमुख इन्जिनियर झनक अधिकारीका अनुसार नगरपालिकाभित्र सञ्चालित करिब ८० प्रतिशत योजनाहरूको कार्य सम्पन्न भइसकेको छ भने बाँकी योजनाहरूको समेत कडाइका साथ अनुगमन भइरहेको छ।
योजना शाखा प्रमुख विष्णु प्रसाद जैसीले सरकार र जनताबीच समन्वय तथा सहकार्य भएमा मात्र सुशासन कायम गर्न सकिने बताउनुभयो।
त्यसैगरी, मंगलसेन नगरपालिका र सेवक नेपालको सहकार्यमा सञ्चालित योजनाहरूको समेत संयुक्त रूपमा अनुगमन गरिएको थियो। सेवक नेपालका इन्जिनियर सुरेन्द्र यादवले “एक घर–एक धारा” अभियान सफल बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा सेवक नेपालका सब–इन्जिनियर हिमाल रोकाया, धनराज जोशी, सहनशील साउद लगायत उपभोक्ता समितिका पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। अनुगमन टोलीले वडा कार्यालय, स्वास्थ्य चौकी, पशु स्वास्थ्य शिविर लगायतका विभिन्न क्षेत्रहरूको समेत निरीक्षण गरेको जनाएको छ।
जनता, जनप्रतिनिधि र कर्मचारीबीचको सकारात्मक भूमिका तथा सहकार्यबाट मात्रै दीगो विकास र ठूला परिवर्तन सम्भव हुने साझा धारणा जनता सँग व्यक्त गरिएको थियो। साथै अनुगमन क्रममा योजना सञ्चालन भएको क्षेत्रमा पुगेका वेला अनुगमन टोलिलाई विभिन्न वडा तथा स्वास्थ्य कार्यालहरुले स्वागत तथा सम्मान गरेका थिए ।





