अछाम, असार १२ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल को संयुक्त साझेदारीमा सञ्चालित बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत अछाम जिल्लाका ४० जना कृषकलाई मौरीघारसहित मौरी वितरण गरिएको छ।
परियोजनाअन्तर्गत कमलबजार नगरपालिका वडा नं २ र ५ , मेल्लेख गाउँपालिका वडा नं २ , साँफेबगर नगरपालिका वडा नं ४ तथा पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का गरी जम्मा ४० जना लाभग्राहीलाई मौरीघारसहित मौरी हस्तान्तरण गरिएको हो।
यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय समुदायको आयआर्जन वृद्धि गर्नु, मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्नु, कृषकलाई आत्मनिर्भर बनाउनु तथा परिवारको आर्थिक अवस्था सुदृढ गरी बालबालिकाको समृद्धि र समग्र जीवनस्तरमा सुधार ल्याउनु रहेको परियोजनाले जनाएको छ।
मौरी वितरण कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष, जनप्रतिनिधिहरू, बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मौरीपालनलाई ग्रामीण समुदायको दिगो आयआर्जनको प्रभावकारी माध्यमका रूपमा विकास गर्न आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा लाभग्राहीहरूले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै व्यवसायिक मौरीपालनमार्फत आम्दानी बढाई आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएका थिए। साथै, मौरीपालनबाट मह उत्पादनसँगै कृषि बालीमा परागसेचन वृद्धि भई उत्पादन बढ्ने, वातावरण संरक्षणमा योगदान पुग्ने तथा ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जनका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
परियोजनाले आगामी दिनमा पनि समुदायको आर्थिक सशक्तीकरण, बाल समृद्धि तथा दिगो विकासलाई टेवा पुग्ने यस्ता आयमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय