
विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन्। मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो।
प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा राजेश पुलामीले २४ रनको अविजित इनिङ खेल्दै आर्मीलाई जित दिलाए। प्रदेश–१ को बलिङमा फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र शुभंकर उराले १/१ विकेट लिए।
त्यस अघि प्रदेश–१ ले ४०.१ ओभरमा सबै विकेट गुमाउँदा १ सय ३१ रन मात्र जोड्न सक्यो। विवेक मेहेताले ५० रनको अर्धशतकीय योगदान गर्दा प्रदेश–१ को इनिङ सय रन पार भएको थियो। आर्मीका साहब आलमले चार विकेट र आकाश चन्दले तीन विकेट लिए। तेस्रो जितसँगै सेमिफाइनलनजिक पुगेको आर्मीले समूह ‘ए’ मा तीन खेलबाट ६ अंक जोडेको छ।
सुदूरपश्चिमले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पुलिसले १७ ओभरमा एक विकेट मात्र गुमाएर पूरा गर्यो। पुलिसका सुनील धमला र कुशल भुर्तेलले अर्धसतकीय इनिङ खेल्दै जित दिलाए। धमलाले ५३ रनको योगदान दिँदा कुशल भुर्तेल ५१ रनमा अविजित रहे। त्यस अघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३३.१ ओभरमा अलआउट हुँदा १ सय १० रनको झिनो योगफल जोडेको थियो।
सुदूरपश्चिमका ओपनर खडक बोहोराले सर्वाधिक ४० रन र सन्जु धामीले ३५ रन जोड्नुबाहेक अन्यले निराशाजनक ब्याटिङ गरे। पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले ४/४ विकेट लिए। पुलिसले दुई खेलबाट दुई अंक जोडेको छ।