२२ माघ, काठमाडौं । प्रचण्ड-माधव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव देशभरका सहरी क्षेत्रमा देखिएको छ । लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् भने ग्रामिण भेगमा अवरोध छैन । शहरी क्षेत्रमा समेत भित्री बाटोमा गाडी चलेका छन् ।

गृह मन्त्रालयले सवारी सञ्चालन गर्न यातायात व्यवसायीहरुलाई आह्वान गरेको थियो । यद्यपि, व्यवसायीहरुले सञ्चालन गरेनन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ट्रकहरुलाई पनि सञ्चालनमा सहजिकरण गरेको छ ।

त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् ।

बिहीबार बिहान १० बजेसम्म उपत्यकासहित ७ प्रदेशमा के-के भए ? प्रदेश र जिल्लास्थित सुरक्षा अधिकारी र अनलाइनखबरकर्मीहरुसँगको कुराकानीबाट तयार पारिएको रिपोर्टः-

प्रदेश १ : धरानमा झडप

प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीका अनुसार लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात आवगमनमा बाधा छैन ।

मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । ‘इलाममा ट्रकलाई ढुंगा हानिएको थियो यद्यपि, अहिले स्थिति शान्त छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्कीले भने ।

बिराटनगरस्थित अनलाइनखबरकर्मी हरि अधिकारीका अनुसार बिहीबार बिहानैदेखि प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । सिटी सफारी जस्ता तीनपाङ्गे सवारीसाधनले सडकमा मानिसहरु ओसारिरहेको उनले बताए । प्रदेश १ मा मोटरसाइकल निर्वादरुपमा चलिरहेका छन् ।

धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रदेश २ : १९ जना पक्राउ

प्रदेश नं. २ मा सवारीसाधनहरु अत्यन्त न्यून चलेका छन् । प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् ।

पूर्वमन्त्री अजयशंकर नायक सिराहामा कार्यकर्ता लिएर सडकमा निस्किएका छन् । चन्द्रनिगाहपुरमा पूर्वसांसद रामकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।

लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न दुई जना तत्काल पक्राउ गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

वीरगञ्ज संवाददाता सुरेश विडारीका अनुसार आमहड्तालमा अवरोध गरेको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रचण्ड-माधव समूहका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।

बागमती : सिन्धुपाल्चोकमा छैन प्रभाव

बागमती प्रदेशमा प्रहरीले लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर विभिन्न जिल्ला पठाइरहेको छ । प्रदेश प्रहरी कार्यालयकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मिरा चौधरीका अनुसार मकवानपुरको ठाडाभन्ज्याङ र चितवनको आँपटारीमा दुई वटा ट्रकमा ढुंगासमेत हानिएको छ ।

सिन्धुपाल्चोकमा ९० प्रतिशत खुला रहेको प्रहरीले जनाएको छ । अन्य जिल्लामा आंशिक प्रभाव छ । भित्री बाटोमा सवारी सञ्चालनमा कुनै अवरोध छैन ।

उपत्यका : शीर्ष नेताहरु सडकमा

काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा निस्किएका छन् । छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उनले सम्बोधन गरेका छन् ।

सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताए । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उनले बताएका छन् ।

रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रचण्ड-माधव समूहको संघर्ष समिति संयोजक समेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।

यो पनि पढ्नुहोसअष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ (फोटो फिचर)

पूर्वसभामुख एवं स्थायी समिति सदस्य कृष्णबहादुर महरा पनि सातदोबाटोमा देखिएका छन् । अर्का अध्यक्ष माधव नेपाल कोटेश्वरमा निस्किने भनिएको छ । हालसम्म सडकमा अवरोध गरेको भनेर प्रहरीले उपत्यकाबाट ७७ जनालाई पक्राउ गरेको छ भने हड्तालको आंशिक प्रभाव देखिएको छ ।

गण्डकी प्रदेश : ठाउँठाउँमा प्रदर्शन

पोखरा

पोखरा संवाददाता अमृत सुवेदीका अनुसार प्रचण्ड-माधव समूहले महेन्द्रपुलमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् । ओली समूहका नेता, कार्यकर्ताले भने बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेको सुवेदीले बताए ।

जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी सुवास हमालका अनुसार हालसम्म जिल्लामा कुनै उछृंखल गतिविधि भएका छैनन् । कसैलाई पनि पक्राउ गरिएको छैन ।

लुम्बिनी : व्यापक प्रहरी परिचालन

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्दले अनलाइनखबरलाई बताए । ठाउँठाउँमा प्रचण्ड-माधव समूहका नेता, कार्यकर्ता निस्किएका छन् । यात्रा गर्न चाहनेले सुरक्षा माग स्कर्टिङको व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय