काठमाडौं:प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ।सभामुख चयनका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेस गरिनेछ ।

सत्ता साझेदारका तर्फबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट इश्वरी न्यौपाने गरेर २ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभामा सत्तारुढ दलहरुसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि सभामुख पदमा भने कांग्रेसको नेतृत्वमा छुट्टै गठबन्धन गरेको हो। कांग्रेस र नेकपा एकीकृतको गठबन्धनमा उसले ईश्वरी न्यौपानेलाई अघि सारेको हो।

अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ। एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार देवराजले १४५ मत पाउने देखिन्छ।

यसमा सत्ता गठबन्धन घटकमध्ये १२ सिट रहेको जनता समाजवादी, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा २२ सिट थपिन गई देवराजका पक्षमा १६७ सिट पर्न जान्छ। तर, यी दलहरु मन्त्रिपरिषद गठनमा असन्तुष्ट देखिएकाले सभामुखको चुनावमा प्रस्टसँग खुलिसकेका छैनन्।

कांग्रेसतर्फको मतको अवस्था हेर्दा ईश्वरी न्यौपानेले आफ्नो पार्टीका ८९ मध्ये टेकबहादुर गुरुङबाहेक ८८ मत पाउनेछिन्। यसमा एकीकृत समाजवादीको १० भोट थप्दा ९८ हुनेछ भने यसमा लोसपाका ४ सांसद थप्दा १०२ पुग्छ।

कांग्रेस उम्मेदवार न्यौपाने भन्छिन्, ‘निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन। मैले पनि निर्वाचन जित्छु भनेर सुनिश्चितताका साथ लागिरहेकी छु। माननीय सांसदहरुले दिनुभएको मत मेरो जित्ने आधार हो।’

प्रतिनिधि सभामा २७५ जना सांसद छन्। अहिलेको सत्ता साझेदारमा १ सय ६९ सांसद छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय