काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुत आफ्नो नयाँ सिर्जनाका साथ उपस्थित भएका छन् । उनको पछिल्लो गीत ‘दमाई महाराज’ यूट्युबबाट सार्वजनिक भएको छ ।त्यसो त यो गीतमात्र नभएर एउटा कथासहितको भिडिओ हो । ‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रुपमा सपुतले यो भिडिओ ल्याएका हुन् । यद्यपि, भिडिओको कथावस्तु र गीतको धार नितान्त फरक छ । सपुतले धर्मलाई केन्द्रमा राखेर भिडिओको निर्माण गरेका छन्, जसमा जातीय भेदभावको परम्परामाथि प्रहार गरिएको छ ।सपुत एउटा पुराणवाचक पण्डितको भेषमा देखिएका छन् । मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको एउटा सप्ताहमा उनी पुराण भन्न आउँछन् । सप्ताहकै सेटभित्र सबै दृश्य खिचिएको छ । भिडिओको कथालाई बोलमायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान गरिएको छ ।




