
काठमाडौं, १० फागुन : नेपाली मूलका क्रिकेटर जय विष्टले भारतमा जारी चर्चित विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका छन् । उनले उत्तराखण्डबाट खेल्दै मेघालयविरुद्ध १सय ४१ रनको विस्फोटक पारी खेलेका हुन् ।
आइतबार मेघालयले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा उत्तराखण्डका ओपनिङ ब्याट्सम्यानसमेत रहेका विष्टले १ सय १९ बलमा १९ चौका र तीन छक्कासहित १ सय ४१ रनको पारी खेले ।
अर्का ओपनिङ ब्याट्सम्यान कमल सिंह शून्यमै आउट भए पनि जयले भने विस्फोटक पारी खेले । उनले उत्कृष्ट पारी खेलेको म्याचमा मेघालयविरुद्ध उत्तराखण्ड ६ विकेटले विजयी भयो ।
जयले १ सय ४१ रनको विस्फोटक पारीबाहेक उत्तराखण्डको जितमा कप्तान कुणाल चन्देलाले ५५, दिक्षाशुं नेगीले २६, सौरभ रावतले अविजित १० रनको योगदान दिए ।
बलिङमा अभय नेगीले दुई, सञ्जय यादव र आदित्य सिंघानीयाले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मेघालयले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ४२ रन बनायो ।
उसका लागि सञ्जय यादवले ८१, कप्तान पुनित विष्टले ४८, द्वारिकरवी तेजाले ४४, वानलमबुक नोनखालो, ल्यारी संगमाले २९/२९ रन बनाए । बलिङमा आकाश मारहवाले सर्वाधिक दुई विकेट लिए ।
को हुन् जय विष्ट?
जयको पुख्र्यौली घर सुदूरपश्चिमको अछाम हो । उनको परिवार सन् १९५० मा मुम्बई आएर त्यतै सेटल भएको हो । उनीहरूको घर वाङ्खडे रंगशाला नजिकै रहेको छ । जयका पिता गोकुल विष्ट आफैँ पनि क्रिकेटर हुन् ।
ओपनिङ ब्याट्सम्यान तथा अफ स्पिनरका रूपमा टिममा स्थान बनाएका जयले भारतको प्रतिष्ठित रणजी ट्रफी पनि खेलिसकेका छन् । धेरै वर्षदेखि उमेर समूहको क्रिकेटमा उनले एकनासको प्रदर्शन गर्दै आएका थिए ।
प्रथम श्रेणी क्रिकेटमा जयले २४ म्याचको ४७ इनिङ्समा चार शतक चार अर्धशतक बनाएका छन् । प्रथम श्रेणी क्रिकेटमा उनको उच्च स्कोर १३५ रन हो ।
त्यस्तै, २५ वर्षीय जयले १५ लिस्ट ‘ए’ मा तीन अर्धशतक र एक शतक बनाएका छन् । लिस्ट ‘ए’ मा उनको उच्च स्कोर १ सय ४१ रन हो ।
त्यस्तै, जयले २८ टी-२० मा सात अर्धशतकका साथ ९ सय २ रन बनाएका छन् । टी-२० मा उनको उच्च स्कोर ९२ रन हो ।जयले मुम्बईबाट अन्य घरेलु प्रतियोगिता खेलिसकेका छन् । उनले भारतका कयौँ चर्चित क्रिकेटरका साथ प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन् ।