काठमाडौ : चीनले नेपाललाई अनुदानस्वरूप दिने भनेको ५ लाख डोज कोरोना भ्याक्सिन (खोप) ल्याउने कुनै पनि तयारी नभएको थाहा लागेको छ।
यसअघि चीन सरकारले पनि नेपाललाई अनुदानस्वरूप माघ २४ गते कोभिड विरुद्धको ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
तर, यो खोप ल्याउन कुनै तयारी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रालय स्रोतका अनुसार चीनले दिने खोप कहिलेसम्म आइपुग्छ भन्नेबारे कुनै तयारी नभएको हो।
मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हामीलाई चीनले दिने भनेको खोप कहिलेसम्म आइपुग्छ भन्ने केही आधिकारिक जानकारी आएको छैन।’
नेपाललाई खोप दिने घोषणा गरेसँगै काठमाडौंस्थित चीनियाँ दूतावासले कोरोनाविरुद्धको खोप सिनोफार्म नेपालमा आपतकालीन प्रयोगनिम्ति अनुमति मागेको थियो। केही दिनमै चीनले दिने खोप नेपालमा आउने हुँदा छिट्टै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन दूतावासले औषधि व्यवस्था विभागलाई पत्राचार समेत गरेको थियो।
सोही पत्राचारअनुसार नेपालमा सिनोफार्म कम्पनीको ‘भेरो सेल’ खोप प्रयोग गर्न अनुमति दिइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीका अनुसार आपतकालीन खोप प्रयोग निम्ति चाइनिज सिनोफार्म कम्पनीको ‘भेरो सेल’ खोप नै आएमा हाल नेपालमा भएको कोल्ड स्टोरमा नै स्टोर गर्न मिल्ने समेत बताए।
यसअघि भारतमा निर्मित सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशील्ड खोप नेपालमा प्रयोग गर्न अनुमति दिइएको थियो। पछि भारत सरकारले १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराए पछि गत माघ १४ गतेपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान शुरू भएको थियो।
केही दिनअघि सरकारले नै भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरीद गरेको २० लाख डोज कोभिशील्ड खोप खरिद गरेको थियो। खरिद गरेको खोपमध्ये १० लाख डोज नेपालमा आइसकेको छ भने बाँकी १० लाख डोज यसै साताभित्र ल्याइने बताइएको छ।
सरकारले एक साता अघि सिरमसँग प्रतिडोज ४ डलरका दरले कोभिडविरुद्धको २० लाख डोज खोप कोभिशील्ड खरीद गर्ने सम्झौता गरेको थियो।
सम्झौतामा दुई चरणमा गरी १५ दिन भित्र २० लाख डोज खोप नेपाल पठाउने भनिएको थियो। सिरमले सम्झौता भएको ५ दिनमै पहिलो लटको १० लाख डोज खोप पठाएको थियो।