अछाम । अछामको चौरपाटी गाउँपालिका–१ मटेना टोलमा रहेको परिवर्तनशील युवा क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रूपमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट रु ३ लाख ११ हजार २ सय ८८ संकलन गरिएको छ।
औंशीको दिनदेखि सुरु गरिएको सो कार्यक्रम तीन दिनसम्म निरन्तर रूपमा सञ्चालन भएको थियो। स्थानीय बासिन्दा, समाजसेवी र युवाहरूको सक्रिय सहभागितामा सम्पन्न देउसी–भैलोमा यस वर्ष पनि उल्लेखनीय सहयोग प्राप्त भएको क्लबले जनाएको छ।
गत वर्ष सोही क्लब र विद्यालयले संयुक्त रूपमा गरेको देउसी–भैलोबाट रु ३ लाख ५२ हजार ३ सय ६५ संकलन गरिएको थियो। यस वर्ष रकम केही घटे पनि स्थानीय स्तरमा निरन्तर सहयोग र सहभागिता बढ्दो रहेको क्लबले बताएको छ।
परिवर्तनशील युवा क्लबका अध्यक्ष देवबहादुर साउदका अनुसार, क्लबले हरेक वर्ष देउसी–भैलोमार्फत संकलित रकमलाई विद्यालय र सामाजिक काममा खर्च गर्दै आएको छ।
उनले भने, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, सामाजिक उत्तरदायित्व पनि हो। युवाहरूको सहभागितामार्फत गाउँमै सशक्तिकरण र विकासको वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य हो।”
क्लबले संकलित रकमबाट देवीस्थान आधारभूत विद्यालयमा निजी स्रोतबाट दुई जना शिक्षकको व्यवस्था गरेको छ। साथै, अपाङ्ग, असहाय, एकल र आर्थिक रूपमा कमजोर परिवारहरूलाई सहयोग पुर्याउँदै आएको क्लबले जनाएको छ।
त्यसका अतिरिक्त, गाउँमा उत्पन्न हुने सामाजिक समस्या र विपत्तिमा पनि क्लब अग्रसर भई सहयोग र समाधानका लागि भूमिका निर्वाह गर्दै आएको अध्यक्ष साउदले बताए।




