टंक प्रसाद रिमाल अछाम । नेपाल शिक्षक संघ अछामले जिल्लाभर पालिका स्तरिय प्रतिनिधि भेला अभियानलाई तीव्रता दिएको छ। संघले संगठन सुदृढीकरण, शिक्षकका पेशागत हकहित संरक्षण तथा आगामी कार्यक्रम तय गर्ने उद्देश्यले विभिन्न स्थानीय तहमा प्रतिनिधि भेला सम्पन्न गरिरहेको छ। संघका अनुसार आज मात्रै साफेबगर नगरपालिका, तुर्माखाद गाउँपालिका, ढकारी गाउँपालिका र रामारोशन गाउँपालिकामा प्रतिनिधि भेला सफलतापूर्वक सम्पन्न गरिएको हो। भेलामा पालिका अन्तर्गतका शिक्षक प्रतिनिधिहरूको उल्लेखनिय सहभागिता रहेको थियो। भेलामा संघको वर्तमान अवस्था, शिक्षक आन्दोलनका मुद्दा, शिक्षा नीतिमा सुधारका पक्ष तथा संगठन विस्तारका रणनीतिबारे विस्तृत छलफल भएको संघका पदाधिकारीहरूले जानकारी दिएका छन। यसअघि संघले पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिकामा पनि प्रतिनिधि भेला सम्पन्न गरिसकेको छ। ती भेलाहरूमा पनि शिक्षकहरू बीच ऐक्यबद्धता कायम गर्दै संगठन लाई गाउँदेखि नगर तहसम्म बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। संघका जिल्ला पदाधिकारीहरूले आगामी दिनमा बाँकी रहेका पालिकाहरूमा पनि यस्तै प्रतिनिधि भेला सञ्चालन गरिने बताएका छन । उनीहरूले शिक्षकका पेशागत अधिकार, सेवा–सुविधा, स्थायित्व, शिक्षा ऐन कार्यान्वयन तथा गुणस्तरीय शिक्षाका लागि संघ सशक्त रूपमा अघि बढने बताएका छन । भेलामा सहभागी शिक्षकहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि संघले प्रभावकारी पहल गर्नु पर्ने, शिक्षक एकता मजबुत बनाउनु पर्ने तथा विद्यार्थीको गुणस्तरीय शिक्षामा शिक्षक संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए। संघका अनुसार पालिका स्तरिय प्रतिनिधि भेलाबाट आएका सुझाव र निष्कर्ष लाई समेटेर जिल्ला स्तरिय कार्यक्रम र रणनीति तय गरिनेछ। यस अभियानले जिल्लाभर शिक्षकहरूबीच सहकार्य, समन्वय र संगठनात्मक मजबुतीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।





