टंक प्रसाद रिमाल
मंगलसेन, अछाम – माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजाअनुसार अछाम जिल्लामा ५४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले सार्वजनिक गरेको नतिजाअनुसार जिल्ला बाट परीक्षामा सहभागी ३ हजार ६ सय ४४ विद्यार्थीमध्ये १ हजार ९ सय ९३ जना उत्तीर्ण भएका हुन् भने १ हजार ६ सय ५१ विद्यार्थी नन–ग्रेडिङ (NG) मा परेका छन।
जिल्ला शिक्षा समन्वय इकाई अछामका अनुसार यस वर्ष जिल्लाका १०२ विद्यालयबाट विद्यार्थीहरू SEE परीक्षामा सहभागी भएका थिए। अधिकांश विद्यालयको उत्तीर्ण दर ५० प्रतिशतभन्दा माथि रहेको जनाइएको छ।
यस वर्ष तुका माध्यमिक विद्यालय, खप्तड र मनकामना माध्यमिक विद्यालय, बलाताले शतप्रतिशत नतिजा ल्याउँदै जिल्लामा उत्कृष्ट प्रदर्शन गरेका छन। तुका मावि बाट सहभागी ९ जना तथा मनकामना मावि बलाता बाट सहभागी १६ जना सबै विद्यार्थी उत्तीर्ण भएका हुन।
त्यस्तै, वसुन्धरा माध्यमिक विद्यालय थालपाटाले ९७.६ प्रतिशत, प्रभाधम्कोट माध्यमिक विद्यालय सिद्धेश्वरले ९७.१ प्रतिशत तथा वेतालमाण्डौ माध्यमिक विद्यालय घुघुरकोटले ९६ प्रतिशत उत्तीर्ण दर हासिल गर्दै उत्कृष्ट विद्यालयको सूचीमा स्थान बनाउन सफल भएका छन।
यता केही विद्यालयको नतिजा भने कमजोर देखिएको छ। महाकाली माध्यमिक विद्यालय कुइकाको उत्तीर्ण दर शून्य प्रतिशत रहेको छ। त्यसैगरी शिशुबोधनी माध्यमिक विद्यालय मुली, पशुपति माध्यमिक विद्यालय चाल्सा, मनकामना माध्यमिक विद्यालय सेरा तथा देविमाण्डौ माध्यमिक विद्यालय दुनीको उत्तीर्ण दर ५ प्रतिशतभन्दा कम रहेको नतिजाले देखाएको छ।
पालिका स्तरमा तुर्माखाद गाउँपालिकाले सबैभन्दा बढी ७५.६ प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ। मंगलसेन नगरपालिका ७३.८ प्रतिशतसहित दोस्रो तथा ढकारी गाउँपालिका ७१.३ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन। बान्निगढी जयगढ गाउँपालिकाको ६८ प्रतिशत, रामारोशन गाउँपालिकाको ६७.७ प्रतिशत र साफेबगर नगरपालिकाको ६४ प्रतिशत उत्तीर्ण दर रहेको छ।
त्यस्तै, मेल्लेख गाउँपालिकाको ४६.५ प्रतिशत, बिनायक नगरपालिकाको ३४ प्रतिशत, चौरपाटी गाउँपालिकाको उत्तीर्ण दर २७.७ प्रतिशत,तथा कमलबजार नगरपालिकाको सबैभन्दा कम १८.२ प्रतिशत रहेको छ।
यस वर्ष जिल्लाबाट उत्कृष्ट GPA ल्याउने विद्यार्थीमध्ये नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चाफामाण्डौका मानभ रावलले ४ GPA हासिल गर्दै शीर्ष स्थान प्राप्त गरेका छन। सरिता माध्यमिक विद्यालय शान्तडाका आयुस रावलले पनि ४ GPA ल्याएका छन।
त्यस्तै, नेपाल राष्ट्रिय मावि चाफामाण्डौकी मानभी रावलले ३.९१ GPA, विद्यामन्दिर मावि बिनायकका पारस कुमार उपाध्यायले ३.९० GPA, भैरव मावि लकान्द्रका जोहेन बि.सी.ले ३.९० GPA प्राप्त गरेका छन्।
षोडशा मावि मंगलसेनका आयुस बोगटीले ३.८७ GPA, नेपाल राष्ट्रिय मावि चाफामाण्डौका अयम रावलले ३.८६ GPA, बिन्ध्यबासिनी मावि भैरबस्थानका टेकेन्द्र बुढा क्षेत्रीले ३.८५ GPA, नेपाल राष्ट्रिय मावि चाफामाण्डौका सोनु महतराले ३.८३ GPA तथा विद्यामन्दिर मावि बिनायकका केशभराज देवकोटाले ३.८२ GPA प्राप्त गरेका छन्।
यसपटकको SEE नतिजाले अछाम जिल्लाको शैक्षिक अवस्थाको मिश्रित चित्र प्रस्तुत गरेको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू अन्यका लागि प्रेरणाको स्रोत बनेका छन भने कमजोर नतिजा भएका विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।





