काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्टाएपछि विपक्षीहरूले उनको राजीनामा मागेका छन् । तर, प्रधानमन्त्री केपी ओली भने राजीनामा नदिई संसद फेस गर्ने मनस्थितिमा देखिएका छन् ।

आफूले चालेको कदम अदालतले बदर गरेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नेकपाको इतर पक्षले आवाज उठाइरहेको छ । यस विषयमा प्रधानमन्त्रीको औपचारिक धारणा आइसकेको छैन । तर, उनी निकट नेताहरुबाट चाहिं ओलीको राजीनामा तत्काल नआउने स्पष्ट संकेत आएको छ ।

हिजो सर्वोच्चको फैसला आउँदा बालुवाटारमा प्रधानमन्त्रीको जन्मोत्सव चलिरहेको थियो । पार्टीका प्रमुख नेता तथा मन्त्रीहरु त्यहाँ जम्मा भएका थिए । सो जमघटपछि नेताहरुबीच भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले राजीनामाभन्दा संसद फेस गर्ने मनसाय व्यक्त गरेको स्रोतको भनाइ छ ।

हिजै राति प्रधानमन्त्री निकटस्थहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीको राजीनामा नआउने संकेत दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट शब्दमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गर्ने र तत्काल राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन, उनले फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय